नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

फागुन २६, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ । 

विश्‍वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो । रोजगारमा जाने नेपाली कामदारको लागि कतार प्रमुख गन्तव्यमध्येको एक हो । 

कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । उक्त निर्णय आज (मार्च ९)बाट कार्यान्वयनमा आएको छ ।   

सोमबार बिहानसम्म कतारमा १५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेको छ । यसअघि कतार एयरवेजले इटालीमा हुने दुईतर्फी उडान बन्द गरिसकेको छ । कतारमा करिब ४ लाखको सङ्‌ख्यामा नेपाली कार्यरत रहेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *