ट्राफिक प्रहरीमा क्वार्टर मास्टर हवल्दार खत्रीको मनपरीः ४२ सय तिर्दासमेत छैन राम्रो खाना

 

साउन ५, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्त सिनियर मेनेजमेन्ट तालिममा रहँदा ट्राफिक प्रहरीमा रासन प्रकरणले खैलाबैला नै मच्चायो । 

महाशाखामा र्याकर चालकका रूपमा कार्यरत रहेका हवल्दार गणेशबहादुर खत्रीलाई कोर्टमार्सलको जिम्मेवारी दिएपछि उनले खुवाउने खाना निम्नस्तरको भएसँगै यस्तो खैलाबैला मच्चिएको हो । 

null

एमटीको ड्राइभरका रूपमा रही महाशाखामा खटिएका र्याकर चालक हवल्दार खत्रीलाई कोर्टमार्सलको जिम्मेवारी दिनु नै नीतिविपरीत त थियो नै यसबाहेक उनले खुवाउने खाना निम्नस्तरको भएपछि यस्तो गुनासो र खैलाबैला बाहिर आएको हो । हरेक दिन रोलकलका क्रममा कुनै न कुनै सिपाही–हवल्दारले खानाको गुनासो गरिरहेका हुन्छन् । रोलकल बाहेकपनि खाना खाने सिपाही–हवल्दारले खानाको बारेमा गुनासोहरू गरिरहन्छन् । 

डिएसपी तहसम्म हवल्दार खत्रीले खुवाउने खाना स्तरीय नभएको गुनासोहरू नपुगेको होइन । हवल्दार मेजर, सुवेदार मेजरलाई त बारम्बार त्यस्तो जानकारी गराइएको भए पनि कुनै सुधार नभएपछि अहिले ती तल्लो तहका प्रहरीहरू आफ्नो गुनासो उजागर गर्न बाध्य भएका हुन् । 

लामो र छोटो महिना हेरेर मासिक ४ हजारदेखि ४२ सयसम्म एक जनाबाट क्वार्टरमास्टरले रकम लिन्छन् । उपत्यकाभित्र सबैभन्दा बढी रासनवापत रकम तिर्नुपर्ने कार्यालय नै प्रहरीमा ट्राफिक प्रहरी महाशाखा हो । जबकि अन्यत्र ३४ सय रूपैयाँ मासिक रहेको छ । प्रहरी मुख्यालयले उपत्यकाभित्र खानावापतको रकम एउटै बनाउने निर्णय गरे पनि ट्राफिक प्रहरीमा यो नियम लागु भएको छैन । 

४ हजारदेखि ४२ सय रूपैयाँ तिर्दासमेत ट्राफिक प्रहरीले राम्रो र स्तरीय खाना पाएका छैनन् । खत्रीलाई क्वाटरमास्टर बनाउँदा ताका उनले कबुल गरेका खानाका आइटमहरू पनि उनले पूरा गरेका छैनन् । एक हवल्दारले भने– ‘एसएसपी वसन्त पन्तले थाहा नदिई कुनै दिन सिपाहीको मेसमा गएर खाना खाइदिए वास्तविकता थाहा हुने थियो ।’ 

एक वर्षदेखि क्वाटरमास्टर रहेका गणेशबहादुर खत्रीले खानामा सुधार नगरेको कम्प्लेन बारम्बार गर्दा समेत पूरा नभएको ती हवल्दारले बताए । यसबाहेक बिदामा जानेहरूले रासन नखाए वापतको रकम पाउँदैनन् । वार्षिक रूपमा १२ दिन क्याबि बिदामात्रै हुन्छ । त्यसवापतको रकमसमेत क्वार्टर मास्टर हवल्दार खत्रीले दिँदैनन् । एकातर्फ धेरै रकम दिएर निम्नस्तरको खाना खुवाउने काम हुँदै आएको छ भने अर्कोतर्फ बिदामा जानेहरूले समेत त्यसवापतको रकम पाउँदैनन् । 

रोलकलमा गरिएको गुनासो एसएसपी कहाँ समेत पुग्दैन । कारण हो, क्वार्टर मास्टरले त्यहाँ धेरै जनालाई सित्तैमा खाना ख्वाउनुपर्छ, त्यो वापतको असुली सिपाही हवल्दारको रासनबाट असुलिन्छ । यस अघि क्वाटरमास्टरका रूपमा सई राजाराम कार्की थिए । उनी गट्ठाघर ट्राफिक पोष्ट गएपछि खत्री क्वाटरमास्टर बनेका हुन् । सई कार्की अहिले गट्ठाघरबाट समेत तानिइसकेका छन् । ट्राफिक महाशाखामा अहिले खाना खाने ट्राफिकहरूको संख्या झण्डै दुई सयको हाराहारीमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *