ओलीलाई सरकारमा बस्ने अधिकार छैनः डा. कोइराला

मसिंर २२, मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ मिनेट पनि सरकारमा बस्ने अधिकार नरहेको बताएका छन् । एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रममा भाग लिन सरकारी आवास छोडेर तीन दिन सम्म होटलमा बस्ने प्रधानमन्त्री राष्ट्र र जनताको हुनै नसक्ने भन्दै डा. कोइरालाले प्रधानमन्त्री ओलीलाई सरकारमा बस्ने अधिकार नभएको बताएका हुन् ।  

 

शुक्रबार मोरङ क्षेत्र नं. ३ मा आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य डा. कोइरालाले ओली सरकारको रबैया हेर्दा सरकार स्थिर हुँदैमा राजनीतिक स्थिरता नहुने सङ्केत देखिरहेको बताए । ‘कानून र राज्य भनेको नै मै हुँ भन्ने दम्भबाट ओली सरकार परिचालित छ सरकारकै गतिविधिले संघीयता टिक्न सक्ने अवस्था रहेन ।’ उनले भने–‘सरकारमा जनवादी केन्द्रीयताको धङ्धङ्गी छ, सरकार सङ्घ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्ने आयोजनाको पनि केन्द्रले हेर्ने नियम बनाउँदै छ । यो जनबादी केन्द्रीयता लागु गर्ने संकेत हो ।’  

null

डा. कोइरालाले सरकार परराष्ट्र नीतिमा पनि चुकेको आरोप लगाए । ‘विमिस्टेक सम्मेलनमा ६ देशका सरकार प्रमुखसँग गरेको सहमतिबाट सरकार पछि हट्नु एउटा उदाहरण हो ।’ उनले भने ।  

कोइरालाले एसिया प्यासेफिक समिटको कार्यक्रममा सरकार सह आयोजक बनेर गल्ती गरेको उल्लेख गर्दै भने–‘एउटा अन्तराष्ट्रिय गैर सरकारी संस्थासँग दुई तिहाई बहुमतको सरकार निरिह बन्यो । यो आम नेपालीका लागि लज्जाको विषय हो ।’ 

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य गगन थापाले पार्टी सरकार बाहिर रहेपनि जनतासँग नजिक रहेको बताए । उनले सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको बताउँदै दुई तिहाईको बलले बनेको सरकार आफ्नै कारण कमजोर हुँदै गएको दावि गरे ।  

थापाले कम्युनिष्टहरूले गरिवको राजनीति गरेर सधै चुनाव जिते पनि गरिवका लागि कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । योगदानमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कांग्रेस सरकारको पालामा सुरु भएको बताउँदै उनले करोडौं खर्च गरेर पोल पोलमा सरकार देखाउनु लज्जाको विषय भएको जिकिर गरे । 

 

मोरङ काङ्ग्रेस सभापति डिगबहादुर लिम्बूले काङ्ग्रेसले गरेका कामको प्रचार गर्न नसकेको बताए । सरकार महिला मैत्री नभएको बताउँदै उनले आमा दिदी बहिनीलाई सुरक्षामा आफै पनि चनाखो रहन आग्रह गरे । उनले पार्टीमा आउने साथीहरूलाई ब्यवस्थापन गर्न केन्द्रीय सदस्य कोइराला सँग आग्रह गरे ।  

कार्यक्रममा नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तत्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय मित्रसेन योन्जन र राम न्यौपाने र राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष डिआर लिम्बूले समेत बोलेका थिए । 

कार्यक्रममा ५ सय जना नेकपा निकट कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई डा. शेखर कोइराला, मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले पार्टीको सदस्यता र पार्टीको झण्डा प्रदान गरेका थिए ।  

पार्टी परित्याग गरी युवाहरुलाई कांग्रेसमा प्रवेश गराउने कार्य मोरङ क्षेत्र नं. ३ बाट गत संसदीय निर्वाचनमा उम्मेद्वार बनेका कांग्रेस महासमिति सदस्य डा. सुनील शर्माले गरेका थिए । 

चुनाव ताका गाउँ–गाउँमा स्वास्थ्य शिविर लगेर निःशुल्क उपचार गर्दा विपक्षीबाट डा. शर्माको चर्को आलोचना भएको थियो । अहिले निर्वाचन पछिपनि आफ्नो क्षेत्रमा डा. शर्माको सक्रियता देखेर विपक्षीहरु तिल्मिलाएको स्थानीयहरुको भनाइ छ । उनी यतिबेला नोवेल अस्पतालको कामकारवाही छाडेरै आफ्नो क्षेत्रको विकासका लागि सक्रिय भएर लागेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *