भुँइभरी तारा

 

अरे… भुँइभरी तारा । जोडले चिच्याए । साथीहरु के भयो भन्दै दगुर्दै आउनु भयो । सँगै सबैजना चिच्याउन थाल्यौ । कसैले क्यामेरा, कसैले मोबाइलमा फोटो कैद गर्न थाले । 

तर, ती त तारा थिएनन् । अँध्यारो रातमा धरान बजारमा बलेका रंगीचंगी बत्तीहरुको चमक पो थिए । माथि खुल्ला आकास भरि तारा, तल भुँई भरि पनि तारा । वाह ! अपूर्व दृष्य । लाग्यो आकाशका ताराहरु भुइँमा खसेर चम्किरहेका छन् । पहिलो पटक राती देवीथानबाट धरान हेर्दा यस्तो देखेँ । झिलमिल–झिलमिल ताराहरु सल्बल्याए जस्तो लाग्ने । धरान दक्षिणको जंगल अनि जंगलबीच लहरै हिँडेका गाडीको प्रकास र झनै तल्तिरको इटहरी गज्जब देखिने । 

null

लाग्यो कालो अँध्यारो बादलको बिचमा ताराहरु हिँडिरहेका छन् । अझ पर इटहरी नियाल्दा गुजुमुज्ज परेर रहेको अर्को तारामण्डल जस्तो । यो दृश्य नियाल्दा झिमिक्क गर्न मन नलाग्ने । एकटकले हेरिरहुँ जस्तो । तल धरानमा हपहपी गर्मी हुँदा पनि डाँडामा लकलक काम्ने चिसो । अझ रात छिप्पदै जाँदा सिरसिर हावा चल्दा मुटु नै काप्छ । 

 

धरानबाट करिब १५ किलोमिटर उत्तरतर्फ पर्छ देवीथान गाउँ । भेडेटारबाट हेर्दा समथर पहाडमा एउटा सुन्दर वस्ती देखिन्छ । वस्ती नजिकै एउटा सानो डाँडामा श्री कालिका आधारभूत विद्यालय छ । निलो रङको छाना भएको विद्यालय गाउँको आकर्षण हो । त्यहाँ ३८ घरधुरी छन् । धरान उपमहानगरपालिका वार्ड नं. ४ का जनप्रतिनिधि गोरसमान मगरको अगुवाइमा सुरु भएको छ गाउँमा घरवास अर्थात् होमस्टे । 

स्थानीय युवा गणेश थापाले पनि मगरलाई होस्टेमा हैसें गरिरहेका छन् । करिब ६ महिनाअघि थापाले गाउँमा देवीथान भिलेज कटेजको सुरुवात गरे । गाउँमै सामुदायिक काम गर्ने उद्देश्यले अहिले मगरको आग्रहमा उनले पनि कटेजलाई परिवर्तन गरेर सामुदायिक होमस्टे सञ्चालन गर्न तयार भएका छन् । 

करिब २ वर्षअघि गोरसमान मगरले ठूलै पारिवारिक पीडा सहनु पर्यो । कलकलाउँदो छोराले कोरियामा ज्यान गुमाएको १८ दिनमै जन्म दिने आमालाई पनि गुमाए । मगर दम्पत्तिलाई ठूलो बज्रपात पर्यो । मगरको दाजुको छोरी सृजना हाम्रो समूहको सहकारीमा कार्यरत थिइन् । उसैको माध्यमबाट उक्त दुःखद घडीमा परिवारजनमा समवेदना प्रकट गर्न देवीथान गएका थियौं । 

 

त्यसबेलादेखि मगरसँग पनि आत्मियता बढेको हो । त्यो भन्दा पहिले सयौं पटक त्यो बाटो ओहोरदोहोर गर्दा पनि देवीथान वस्ती गएकी थिइन । हाम्रो समूहकी साथी पूजा खड्का त्यस वस्तीसँग नजिक रहिछिन् । फर्केर आएपछि उनले त्यस वस्तीको विषयमा अवगत गराइन् । केही समय लगत्तै स्थानीय निकायको निर्वाचनमा मगरले विजय प्राप्त गरे । उनलाई शुभकामना दिन सहकर्मी मित्र वासुदेव बराल र म देवीथान पुग्यौ । बधाइ दियौं । उनको मनको घाउ निको त भएको थिएन । तर, बलजफ्ती मुस्कुराउने कोशिस गरिरहेका थिए । 

गफगाफको क्रममा उनले थप जिम्मेवारी बढेको सुनाए । सबैले विश्वास गरेर जिताउनु भएको छ । यस वस्तीको लागि केही गर्नु पर्नेछ । पर्यटनको क्षेत्रमा के गर्न सकिन्छ होला सुझाउनुस् न । त्यो ठाउँमा पुगेपछि बेग्लै महसुस भएको थियो । धरान बजारदेखि यत्ति नजिक । पर्यटकीयस्थल भेडेटारसँग जोडिएको । तर, किन गाउँचाहि हात बाँधेर बसेको होला । 

यसलाई पर्यटनमा संलग्न गराउन पाए हुन्थ्यो भन्ने थियो । मनमनै मन्थन गरे । उहाँसंगै गाउँ वरिपरि घुम्यौं । त्यहाँ एउटा देवीथान पनि रहेछ । सायद त्यहि थानको नामबाट नै गाउँको नाम देवीथान रहेको हो कि । स्थानीयले पूजाआजा गर्दा रहेछन् । अलिक पर डाँडामा उक्लेर हेर्दा छ्याप्प धरान बजार देखियो । उत्तरतर्फ फर्केर हेर्दा भेडेटार देखिन्छ । अलिक पर नियाल्दा पाथीभरा माताको दर्शन गर्न सकिन्छ । हामीले उहाँलाई यहाँ पहिलो चरणमा होमस्टे सुरु गर्न सकिने सुझायौं । 

 

सुझावले मगर तातिएछन् । गाउँलेले पहल गरेर ‘पानारोमा भ्यु पोइण्ट’ बनाइरहेका छन् । लामो समयपछि उनीसँग नगरपालिकामा भेट भयो । होमस्टेका लागि तयार हुदैछौं भन्ने भावना पोख्नु हुँदा हामी हर्षित भयौं । यसलाई कसरी ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’ गर्ने भन्ने विषयमा छलफल भयो । गाउँमा गुफा पनि छ भन्ने जानकारी पायौं । गाउँमा आउने पाहुनालाई अतिरिक्त क्रियाकलापका रुपमा गुफासम्मको छोटो हाइकिङ गराउन सकिने देखियो । गुफाको अवलोकनका लागि धरान पर्यटन विकास समितिका सह–संयोजक किशोर थुलुङ, मित्र वासुदेव बराल र म फेरी देवीथान पुग्यौं । गुफा हेर्नु पूर्व नै हामी ‘सरप्राइज’ भयौं । उनले होमस्टेका लागि भनेर ३ वटा एटेज कोठाहरु बनाएका रहेछन् । सोचेजस्तै होमस्टे बनिने रहेछ भन्ने लाग्यो । हामी पनि गमक्क पर्यौं । फटाफट फोटो खिच्न भ्यायौं । 

गाउलेहरु मिलेर गएको वैशाख ६ गते होमस्टेको औपचारिक उद्घाटन गरेका छन् । पाहुनालाइ लोकल कुखुराको मासु, ढिडो, फापर र कोदोको रोटी, सिप्ली साग, सिस्नोको सुप, भुइँस्याउ लगायतका खाना ख्वाइन्छ । ढिडो र सिस्नोको सुप चाख्न एक साँझ साथीहरु लिएर पुगेका छौं । सन्दर्भ करिब महिना दिनअघिको हो । एक कार्यक्रमका लागि काठमाडौं गेट कलेजका प्रमुख प्रशाशकीय अधिकृत एवम् पर्यटन विज्ञ खेम लकाइ र विकास उद्यमीकी कार्यक्रम संयोजक सुबुना बस्नेत धरान आएका थिए । 

विभिन्न खानाको परिकारको स्वाद चाख्न सौखिन रहेछन् लकाइ । धरानको अर्गानिक खाना खाने इच्छा व्यक्त गरे । उनीहरुलाई लिएर हामी देवीथान हुइँकियौं । बाटोबाटै खाना अर्डर गरौं । गाउँ पुग्ने वित्तिकै हत्त न पत्त दृष्यावलोकन गर्ने डाँडामा गयौं । मनोरम दृष्य देख्दा उनीहरु आश्चर्य भए । त्यहाँ बसेर गफिन थालेको समय बितेको पत्तै भएन । दिनभरको थकान क्षणमै मेटिएको उनीहरुले आशय व्यक्त गरे । 

रात्रीकालीन धरानलाई नियाल्न सहजताका लागि थापाले ट्रि–हाउस पनि बनाएका छन् । मदिरा सेवन गर्नेहरुका लागि त्यहाँ बसेर गाउँमा बनाएको लोकल मदिराको चुस्की लगाउँदै धरान नियाल्दा गजबको अनुभूति हुन्छ । मदिरा सेवन नगर्नेका लागि गाइको दुध पिलाउने व्यवस्था गरेका छन् उनीहरुले । साँझको समयमा सप्तकोशीमा सूर्यले डुबुल्की मारेको दृश्य अद्भूत हुन्छ । समूहमा बसेर धरान नियाल्दै गफिन थालियो भने उठ्न मन लाग्दैन । शान्त र प्रकृतिप्रेमीका लागि पनि उक्त स्थान उपयुक्त छ । 

करिब ३० मिनेट हिँडेपछि काम्फेकमा रहेको भालु गुफा पुगिन्छ । होमस्टेमा वास बस्ने पाहुनालाई बिहान ‘मर्निङ वाक’ गराउँदै गुफा लैजाने छोटो हाइकिङको व्यवस्था गरेका छन् । अलिक लामो समय हिँड्न रुचाउने पाहुनालाई नाम्जेसम्म पुर्याउछन् । सोही दिन फर्किने पाहुनालाई खाजा ख्याएर विदाइ गरिन्छ । केही दिन बस्ने पाहुनालाई नजिकैको गाउँ जामुन्ने, भेडेटार, नाम्जे, शिवजट्टालगायतका स्थान अवलोकन गराउने सञ्चालकहरु बताउछन् । 

पर्यटनका लागि मुख्य चार वटा तत्व आवश्यक पर्दछ । गन्तव्यको आकर्षण, पहुँच, बसोवास एवम् खानपान र अन्य सहायक सुविधाहरु । देवीथानको आकर्षण भनेको प्राकृतिक सून्दरता हो । दृष्यावलोकनमा रुची राख्ने प्रकृतिप्रेमी पर्यटकका लागि यो गन्तव्य उत्कृष्ट बन्न सक्छ । 

गन्तव्यमा पुग्न कालोपत्रे सडक छ । खानपान र बसोवासका लागि होमस्टेको सुरुवात भएको छ । अब सहायक सुविधाका लागि भने स्थानीयहरुले पहलकदमी गर्नुपर्ने देखिन्छ । पहिलो त होमस्टेमा बस्ने पाहुनालाई पारिवारिक आतिथ्यता दिन सक्नु पर्छ । 

एक रातका लागि मात्र आएका पाहुनाको रात लम्ब्याउनका निम्ति विभिन्न गतिबिधिहरुको चाँजोपाजो मिलाउनु आवश्यक छ । यसका लागि देवीथानवासीहरुले आफ्नो गाउँलाई कस्तो बनाउने हो । खाका तयार गर्नुपर्छ । उक्त योजनाअनुरुप अल्पकालिन वा दीर्घकालीन रुपरेखा कोरेर अघि बढ्नु आवश्यक देखिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *