एनआईसी एशिया र लुम्बिनी ग्रुपबीच सम्झौता
फागुन २८, काठमाडौं । एनआईसी एशिया र लुम्बिनी ग्रुपबीच सम्झौता भएको छ । एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको हो ।
सम्झौता पश्चात विप्रेषण कारोबार समेत सुरु भएको हो ।
उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआईसी एशिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।
लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तहरू बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सजिलै भुक्तानी पाउने छन् ।
हालसम्म बैंकका २१ लाख ग्राहक छन् । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।