पत्रकार मिश्र ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

वैशाख २०, काठमाडौं । रिपोटर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका वरिष्ठ सहायक उपसम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् । 

 

शुक्रबार रिपोटर्स क्लब नेपालको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिश्रलाई उक्त सम्मान प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र क्लबका सभापति ऋषि धमलाले संयुक्त रूपमा उक्त पुरस्कार तथा सम्मानपत्र मिश्रलाई प्रदान गरेका हुन् । 

null

क्लबले उक्त पुरस्कार आफ्नो स्थापनाको २१औं वार्षिकोत्सवको अवसरमा चैत्र १७ गते दिने घोषणा गरेको थियो । तर, मिश्र विशेष कारणवश काठमाडौं उपत्यकाबाहिर गएकोले उक्त पुरस्कार आज प्रदान गरिएको हो । विगत दुई दशकदेखि व्यावसायिक पत्रकारितमा सक्रिय पत्रकार मिश्र सर्लाहीमा रहेर १० वर्ष र काठमाडौंमा विगत १० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । मिश्रलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ हो । 

कार्यक्रममा मन्त्री पण्डितले आफू र वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको विश्वास दिलाए । उनले भने, ‘प्रेस जगत् पनि अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । प्रेस आफँै अनुशासनमा बस्नुपर्छ । मर्यादित बन्नुपर्छ । राज्यको प्रगति र उन्नतिको दिशातर्फ अघि बढ्नका लागि प्रेस जगत्ले सकारात्मक पहलकदमी चाल्नुपर्छ ।’ स्वतन्त्रताका नाममा केही स्वच्छन्ता देखिएको पनि मन्त्री पण्डितले टिप्पणी गरे । उनले भने, ‘त्यो स्वच्छन्दतालाई ठीक हो भन्न सकिँदैन ।’ 

त्यस्तै, पुरस्कार ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै पत्रकार मिश्रले आफूले जीवनमै पहिलोपटक आज पुरस्कार प्राप्त गरेको भन्दै जीवनभरि आजको दिन स्मरणमा आइरहने सुनाए । उनले भने, ‘मैले जीवनमा आफँै निर्णय गरेर धेरैलाई पुरस्कार दिने अवसर पाएको थिएँ । तर, मैले आफैँले पाएको यो पुरस्कार नै जीवनको पहिलो हो । म रिपोटर्स क्लब र यसका सभापति ऋषिजीप्रति आभारी छु ।’ विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा आफूले पत्रकारिता पुरस्कार पाएको भन्दै आफ्ना लागि आजको दिन ऐतिहासिक भएको उनको प्रतिक्रिया छ । 

मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको सुनाउँदै पछिल्लो समय कुनै न कुनै बहानमा स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारबाट प्रेसमाथि अंकुश लगाउने प्रयास भएको पनि उनले टिप्पणी गरे । त्यस्तै, पत्रकाहरू पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यदि, गल्ती भएका छन् भने समयमै सच्याउनुपर्छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *