म्यादी प्रहरीमाथि लाठि चार्ज, सातजना घाइते
पुस ३, दोलखा । दोलखा सदरमुकाम चरिकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप भएको छ । श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै आन्दोलित म्यादी प्रहरीमाथी हस्तक्षेप गरी लाठीचार्ज गरिएको छ । सोमबार आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठी चार्ज गर्दा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् । घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । म्यादीहरुका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।
खाना खुवाए वापत प्रहरी जवानहरुबाट प्रतिछाक ६० रुपैयाँ काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैयाँ प्रतिछाक पैसा काटिदिएको गुनासो उनीहरुले गरेका छन् । त्यसैगरी महिला म्यादीहरुमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुको छ ।
जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई प्रखाल लगाउनेसहितका ज्यामी काम लगाएको बताइएको छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७ सय ५० जना म्यादीहरु सडकमा उत्रेका थिए ।
भेदभावविरुद्ध सडकमा उत्रेर बजार परिक्रमा गर्न खोज्दा प्रहरीले म्यादीहरुमाथि लाठीचार्ज गरेको हो । डिएसपी रवीन कार्कीले वार्तामा बोलाएपछि अहिले जिप्रका परिसरमा दुईपक्षबीच वार्ता भइरहेको छ ।