साँगा प्रहरी विद्यालयमा क्याम्प कमान्डेड र प्राचार्यको मिलेमतोमा विद्यार्थीलाई कमसल सामान दिएको गुनासो
साउन ५, काभ्रे । आफ्ना सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले काभ्रे स्थित साँगा प्रहरी विद्यालयमा बालबालिका भर्नागर्ने अभिभावकहरु यतिबेला बालबालिका पढाउने कि निकाल्ने धर्मसंकटमा छन् । विद्यालयले अस्वभाविक रुपमा बढाएको शुल्क तथा लत्ता कपडाको रेट सुनेर अभिभावकहरुको पसिना छुटेको छ ।
त्यसो त साँगा प्रहरी स्कुलको ब्यवस्थापन यति कमजोर छकि, ठूला कक्षाका विद्यार्थीहरु दिउसै होस्टलमा गाँजा खाएका समेत फेला परेपनि त्यस्ता विद्यार्थीलाई सुधार्ने वा कार्वाही गर्ने हिम्मत गर्न सक्दैन । होस्टल भित्रै गाँजा खाएको, केटी जिस्क्याएका, झगडा गरेका प्रकरणहरूले दिन प्रतिदिन विद्यालय बदनाम हुँदै गर्दा विद्यालय ब्यवस्थापन र प्राचार्य भने कानमा तेल हालेर बसेका छन् ।
null
स्कुलका क्याम्प कमाण्डेडदेखि प्राचार्यसम्मलाई स्कुलको व्यवस्थापन र शैक्षिक गुणस्तरको भन्दापनि विभिन्न खरिद प्रक्रिया र रासनबाट आउने कमिसनतर्फ बढि चिन्ता छ । विद्यालयले विद्यालयमा पढ्ने विद्यार्थीलाई अनिवार्य आवासको ब्यवस्था गरेको छ । यही अनिवार्य आवासलाई क्याम्प कमान्डेड र प्राचार्यले कमाई खाने मेलो बनाइरहेका छन् ।
विद्यालयको शैक्षिक स्तर उकास्ने भन्दै राजधानीको ट्रिनिटी कलेजबाट गएका प्राचार्य संजिव घिमिरे समेत क्याम्प कमान्डेन्ड सँग मिलेर कमाउ धन्धामा लागेका छन् । कोहि गरिब प्रहरीका विद्यार्थीले छुट मागेको खण्डमा उनले हप्की दप्की समेत गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।
एक अभिभावकले भने–‘११ कक्षामा भर्ना गर्दा १७ हजार ९ सय लिइयो भने, लत्ताकपडाको सेटका लागि भनेर अर्को एक मुष्ठ रकम लिइयो ।’ प्रहरी स्कुलले असई दर्जाको बहालवाला प्रहरीका लागि उसका सन्ततिलाई ११ कक्षामा भर्ना हुन १७ हजार ९ सय रूपैयाँ लिएको छ । लत्ताकपडाको सेटका लागि अर्को २४४१० रूपैयाँ लिएको छ ।
होस्टलमा गाँजा !
यसै शैक्षिक सत्रमा कक्षा ११ मा विद्यार्थी भर्ना गरेका एक अभिभावकले विद्यालयको शैक्षिक स्तर र अनुशासन खस्किएको प्रति चिन्ता ब्यक्त गरे–‘प्रहरीको विद्यालय हो, सुरक्षा हुन्छ, अनुशासनमा विद्यार्थीले पढ्छन्, विग्रदैनन् भनेको होस्टलमै गाँजा सप्लाई हुँदो रहेछ ।’ उनले भने ।
होस्टलको वातावरण ठिक नभएको भन्दै ब्यवस्थापनसँग कुरा गर्न खोज्दा विद्यालयले भेट गर्न समेत नदिएको उनको जिकिर छ । ‘हरेक महिना फि तिर्न आउँछु, म्यानेजमेन्टसँग कुरा गरुँ भन्दा पाएको छैन ।’ नाम उल्लेख नगर्ने शर्तमा ती अभिभावकले भने ।
१५ हजारमा पाउने सामानलाई २६ हजार
शैक्षिक सत्र चलिरहँदा विद्यालयले भर्ना शुल्क भन्दापनि लत्ताकपडामा बढी रकम लिएको भन्दै अभिभावकहरू आक्रोशित छन् । विद्यालयको निर्देशन अनुसार दिएका सामान अनिवार्य लिनुपर्ने र २६ हजार बुझाउनुपर्ने भएपछि सामान्य पदमा रहेका प्रहरी तथा पूर्वप्रहरीका छोराछोरीलाई प्रहरी स्कुल दिवा स्वप्न बनेको छ । प्रहरीले २६ हजार उठाएको सामान बाहिर खरिदगर्दा १५–१६ हजारभन्दा बढी नपर्ने स्रोतको दावि छ ।
‘हाम्रा सन्ततीका लागि भनेर खोलिएको स्कुल हाकीमहरुको कमाई खाने थलो भएछ । तल्लो दर्जाका प्रहरीलाई यो स्कुल अब रहेन ।’ एक प्रहरी अभिभावकले भने । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एआइजिपी ठूले राई रहेपनि उनलाई विद्यालयको शैक्षिक स्तर उकास्ने कुनै चिन्ता छैन ।
१२५० को सामान १२०० मा दिएको छुः सप्लायर्स
ग्वार्को स्थित सम्पूर्ण सप्लायर्सले विद्यालयमा विद्यार्थीको सामान सप्लाइ गर्छ । जसका सञ्चालक हुन सुजन सुवेदी । उनले दुई वर्षका लागि टेण्डर पाएपनि कमसल सामान आपुर्ति गरेर विद्यार्थी अभिभावकलाई लुट्न सम्म लुटेका छन् । उनले स्कुल ड्रेस, होस्टल ड्रेस, टाइ बेल्ट, जुत्ता, मोजा, ज्याकेट स्वेटर गरी २६ प्रकारका सामान उपलब्ध गराउँछन् । जसको मुल्य २४४१० लिन्छन् । तर, सामान भने मुस्किलले १६ हजार पनि पर्दैन । ‘कुनैपनि सामान राम्रा र बलिया छैनन्, ट्यांका एक हप्ता नपुग्दै कुच्चिने छ, मोजा, ट्रयाक सुट, सिरक डस्ना रत्नपार्कमा होलसेलमा किनेर ल्याएका जस्ता छन्, क्वालिटी नै छैन ।’ एक अभिभावक भन्छन् ।
झण्डै १० हजार कमिसन खाएको लत्ताकपडाको सेट कमसल भएको अभिभावकहरुको आरोप छ । ‘स्कुल ड्रेस निम्नस्तरको छ, ट्रयाकसुट पनि कमसल छ । ट्यांका पातलो पाताले बनाइएको सामान्यस्तरको छ ।’ एक अभिभावक भन्छन् । विभागीय अवकाश र बाहिरका विद्यार्थीहरूका लागि लत्ताकपडाको सेटको एउटै मूल्य राखिएको छ ।
सम्पूर्ण सप्लायर्सका सुजन सुवेदी भने आफुले घाटा खाएरै भएपनि सामान सप्लाई गरेको दावि गर्छन् । ‘कन्ट्रयाक भएपछि विचमा छोड्नु परेन । मैले १२५० मा किनेको सामान १२०० मा दिइरहेको छु ।’ उनले आफुले २४४१० मा २६ प्रकारका सामान दिएको दावि गर्दै भने–‘अभिभावकलाई मेरो सामान मन परेन भने मलाई पो कम्प्लेन गर्ने हो त, तपाईलाई हैन ।’
सर्वसाधारणले ११ कक्षामा विद्यार्थी भर्नाका लागि ४५ हजार तिर्नुपर्छ । स्रोतका अनुसार विद्यालयका प्राचार्य र क्याम्प कमान्डेडको मिलेमतोमा कमसल र गुणस्तरहिन सामान विद्यार्थीलाई भिडाइएको छ । सम्पूर्ण सप्लायर्सले विद्यालय परिसरमा मासिक ३० हजार भाडा तिरेरै सामान राखेको छ । ‘मैले कसैलाई कमीसन बुझाउनु पर्दैन, बकाइदा महिनाको ३० हजार भाडा तिरेर विद्यार्थीको सामान बेच्ने गरेको छु ।’ सप्लायर्स सुजन सुवेदीले मकालु खबरसँग भने ।
यता विद्यालयका क्याम्प कमान्डेड डिएसपी श्रीराम भण्डारीले विद्यालयले विद्यार्थीहरुको सामान लत्ता कपडामा कुनै कम्प्रोमाइज नगरेको बताए । उनले प्रतिष्पर्धाबाट सप्लायर्स आएको र उसले ल्याएका हरेक सामानहरुको क्वालिटी जाँच गरेर मात्र वितरण गर्न दिइएको दावि गर्दै कुनैकुनै अभिभावकलाई त्यस्तो लाग्नु स्वभाविक भएको प्रतिकृया दिए । ‘हामीले हरेक सामानको गुणस्तर हेरेर मात्र राख्ने गरेका छौं । शुल्कको कुरा गर्दा नेपाल सरकारले बृद्दि गरेको अनुरुप मात्र बृद्दि गरिएको छ । केहि अभिभावकलाई त्यस्तो लाग्नु स्वभाविक हो, सबैको चित्त त कहाँ बुझाउन सकिन्छ र ?’ उनले भने ।
विद्यालयका प्राचार्य संजिव घिमिरेले भने विद्यालयको शैक्षिक गुणस्तर नखस्कीएको तथा अनुशासन पनि कायम रहेको जिकिर गरे । ‘तपाई आफैं आएर हेर्न सक्नुहुन्छ, हामीले गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी राखेका छैनौं । ६० प्रतिशत प्रहरी र ४० प्रतिशत सर्वसाधारणका विद्यार्थी मेरिट लिस्टका आधारमा लिएका छौं ।