पोखरामा साउन १६ देखि ‘मेगा एजुकेशन फेयर’ हुने

पोखरा, १० साउन । पोखरामा दोस्रो सँस्करणको ‘मेगा एजुकेशन फेयर’ साउन १६ देखि १८ गतेसम्म हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप इभेन्ट्स एण्ड मिडिया सोल्यूसन्स’ ले शैक्षिक मेलाको आयोजना गर्न लागेको हो । पोखरा सभागृहमा हुने शैक्षिक मेलाको भव्य तयारी भैरहेको आयोजकले जानकारी दिएको छ । ‘हामीले पोखरामा यस अगाडी पनि शैक्षिक मेलालाई सफल बनाईसकेका छौँ । र, यो पटक अझै भव्य तवरले शैक्षिक मेलाको तयारी हुँदैछ ।’ वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले भन्नुभयो, ‘पोखरा र आसपासका विद्यार्थी तथा अभिभावकहरुको लागि यो निकै लाभदायक रहनेछ ।’

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना हुन लागेको शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलेज र विश्वविद्यालयहरुले सहभागिता जनाउने छन् । विद्यार्थी तथा अभिभावकले मेलामा एउटै स्थानबाट धेरै अन्तराष्ट्रिय कलेज र यूनिभर्सिटीहरुको बारेमा जानकारी दिनेछन् ।

यस पटक मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु रहेको अायोजकले बताएको छ । अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा निशुल्क छात्रवृत्तिको लागि पनि विद्यार्थीहरुले मेलामा रहेका परामर्श केन्द्रहरुबाट आवेदन दिन सक्नेछन् । त्यस सँगसँगै मेलामा सहभागीता जनाउने विद्यार्थीहरुले स्थानियस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् ।

यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ । त्यही लहरमा धेरैजना नबुझि वैदेशिक अध्ययनमा जाँदा समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

ब्रिटिश काउन्सिलको प्रस्तुतीमा हुन लागेको मेलामा बेलायत, अमेरिका र अष्ट्रेलियाका ३ दशकदेखि पुराना कलेज तथा यूनिभर्सिटीहरुले समेत सहभागिता जनाउँदैछन् । ‘विद्यार्थीहरुको लागि यो निकै सुनौलो अवसर हो ।’ आयोजकले भनेको छ–‘आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा जानकारी लिन मेलाले निकै सघाउनेछ ।’ मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, न्युजील्याण्ड, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको सहभागीता हुने आयोजकले बताएको छ ।

तीन दिने मेला अवधीभर पोखरा सभागृहमा ३० वटा स्टलबाट परामर्शदाताहरुले वैदेशिक अध्ययन, त्यहाँको कलेज र यूनिभर्सिटीको बारेमा जानकारी दिनेछन् । त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । त्यस्तै मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *