स्मरणः ‘मेरो दिपक सर ! जसको मृत्यु स्विकार्न सकिरहेको छैन’
प्रा.डा. दिपक भट्टराई सरको र मेरो पहिलो भेट २०३२ साल एन.सि.सि.एन.मा कार्यरत रहँदा हेटौडा नारायणघाट सडक निर्माण स्थलमा भएको थियो । त्यसपछि बि.ई. अध्ययन गर्ने क्रममा २०४० सालमा इन्जिनियरिङ्ग अध्ययन संस्थानमा मेरो गुरुको रुपमा पुनः भेट भयो । हामी ओभरसियरलाई क्यासियर बनाउन बि.ई. अध्ययन गर्नुपर्छ भनेर सल्लाह सुझाब र सहयोग गर्ने मध्ये दिपक सर पनि एक हुनुहुन्थ्यो । मेरो ३६ वर्षे सरकारी सेवा अवधिमा समय–समयमा हाम्रो भेटघाट भईरहन्थ्यो । भेटको समयमा काम कस्तो छ मेहनत गर्नुपर्छ र गुणस्तरीय कार्य गर्नुपर्छ भनेर सल्लाह सुझाव दिनुहुन्थ्यो । दिपक सर र मेरो भेट प्रायः सभा समारोहहरु र सम्मेलनहरुमा हुन्थ्यो । उहाँको कार्यपत्र धेरै जनाले चाख लिएर सुन्थे ।
मेरो र दिपक सरको विषय फरक भएकोले हामी सँगै काम गर्ने मौका पाएनौं । तर, अचम्मसँग २०७२ सालको महाभूकम्पको दौरान काठमाडौंको मच्छेगाउँमा डेब्रिज म्यानेजमेन्ट–भूकम्पबाट भत्किएका ९४ वटा घरको भग्नावशेष व्यवस्थापन गर्न हामीसँगै काम गर्ने मौका प्राप्त भयो ।
केही वर्षसम्म दिपक सर र मेरो खासै भेट भएन । २०७३ सालमा म पोष्टेड क्यान्सर भएकोले उपचार गर्न केही समय भरत स्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार गर्न बसी राखेको थिए । मैले चार साईकल किमो लिईरहँदा एक दिन भारतमा राजिब गान्धी क्यान्सर अस्पतालमा दिपक सर र ईल्या म्यामसँग जम्काभेट भयो । दिपक सर पनि फोक्सोको क्यान्सरको उपचारको लागि राजिब गान्धी क्यान्सर अस्पताल आउनु भएको थियो ।
भारतको दिल्ली स्थित रोेहिनी सेक्टर ५ मा उपचारको क्रममा हामी दुई वटा परिवार लामो समयसम्म सँगै बस्यौं । भारत बस्ने क्रममा हामी दाई भाई जस्तै पारिवारीक वातावरणमा बस्यौं । उपचारको क्रममा एकआपसमा सहयोग भई नै रहयो । मेरो उपचारको क्रममा केही सुधार भएकोले म ३–४ महिनाको अन्तरालमा मात्र अस्पताल जानु पथ्र्यो । यो क्रममा हाम्रो भेटघाट अलि पातलिएको थियो । तरपनि दिपक सर र ईल्या म्यामलाई भेट्न समय समयमा उहाँहरुको घर महाराजगञ्जमा गईरहन्थे ।
२०७६ सालको दशैंको समयमा दिपक सरलाई रोगले च्यापेको खबर उहाँको भतिज डा. अभिषेकबाट थाहा पाएँ र टिकाको भोलीपल्टै दिपक सरलाई भेट्न उहाँको निवासमा गयौं । सर ओछ्यानमा सुतिराख्नु भएको थियो । सरसँग केही बेर कुरा गरी म र मेरो श्रीमती सकिला फर्कियौं । यो मेरो दिपक सरसँगको अन्तिम भेट थियो उहाँले पछि बोलाउछु भन्नु भएको थियो बोलाउन भ्याउनु भएन ।
दिपक सरको स्वर्गारोहण भएको खबर यही २०७६ कार्तिक ११ गते लक्ष्मी पुँजाको दिन बिहानै आयो ! त्यसबेला म केही सोच्न नसकिने र केही गर्न नसकिने अवस्थामा पुगे । दिपक सरको अन्तिम दर्शन गर्न आर्यघाटतिर लागे । मलाई मेरो दिमागले आजसम्म पनि दिपक सरको मृत्युलाई स्वीकार्न सकिरहेको छैन । अन्त्यमा उहाँले स्थापना गर्नु भएको नेपाल इन्जिनियरिङ्ग कलेजको प्रोफेसरको नाताले उहाँको सम्झना स्वरुप जीवनको अन्त्यसम्म पनि कलेजमा आबद्ध भई कलेजको उन्नती र प्रगतिमा लागि पर्ने प्रण सहित उहाँप्रति समवेदना अर्पण गर्न चाहन्छु ।
रञ्जित नेपाल इन्जिनियरिङ कलेजका पूर्वप्राध्यापक हुनुहुन्छ ।