गतवर्ष २६ हजारले घुमे बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया, १४ साउन । सजिलै बाघ देखिने भएकाले बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढिरहेको छ । निकुञ्जका अनुसार गत वर्ष २६ हजार पर्यटक भ्रमणमा आएका थिए । अधिकांश पर्यटक पाटे बाघ हेर्न आएका हुन् । सबैभन्दा बढी चैत र वैशाखमा विदेशी पर्यटक आएका थिए । प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बर्दिया निकुञ्जले अन्तर्राष्ट्रियस्तरमा बाघ गन्तव्यको पहिचान बनाइसकेको बताए । बाघको संख्या ८७ पुगेपछि निकुञ्ज घुम्न आउने सबैजसो पर्यटकले सहजै देख्न पाउन थालेका छन् ।‘बाघ गन्तव्यका रूपमा बर्दियाको प्रचार भइरहेको छ,’ उनले भने, ‘जसका कारण पर्यटक बढेका हुन् ।’ पाहुना आउन थालेपछि होटल तथा रिसोर्ट खुलेका छन् । स्थानीयले पनि वन्यजन्तु संरक्षणमा जोड दिएका छन् । कर्मचारी, संरक्षणकर्मी र व्यवसायीले आइतबार यहाँ अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने क्रममा पाटे बाघले यहाँको पर्यटन क्षेत्रमा पुर्‍याएको लाभबारे चर्चा गरेका थिए । प्रमुख संरक्षण अधिकृत बरालले पाटे बाघका कारण विश्वभरि ख्याति कमाएको जानकारी दिए । यसपालि बर्दिया भ्रमण वर्ष ०७६ सञ्चालन गरिएकाले पनि पर्यटक बढेको व्यवसायीले बताए । 

पर्या–पर्यटन विकास समिति अध्यक्ष मोहन चौधरीले गर्मी सिजनमा बाघ हेर्न विदेशी आउने गरेको बताए । यहाँबाट बाघ देखेर फर्केकाले आफ्नो मुलुकमा निकुञ्जबारे प्रचार गर्दै आएको उनले सुनाए । ‘बाघ हेर्नैका लागि धेरै पर्यटक आए । यसले बाघ पर्यटनको सन्देश दिएको छ,’ उनले भने । चौधरीका अनुसार निकुञ्जमा बाघ, गैंडा रहात्ती सहजै देख्न सकिन्छ । निकुञ्जमा ४/४ वर्षमा बाघ गणना हुने गरेको छ ।निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरीसिकार नियन्त्रण युवा सञ्जालको सहभागितामा प्राविधिक टोलीले क्यामेरा ट्र्यापिङको सहयोगमा गणना गरिन्छ । निकुञ्जबाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाटबाघको गणना गरिएको थियो । चोरी सिकार नियन्त्रणपछि बाघको संख्या बढेको हो । प्रशस्त आहारा प्रजाति, सुरक्षा र प्राकृतिक बासस्थान भएकाले दुर्लभ पाटे बाघको संख्या बढ्दै गएको र दुई वर्षयता एक दर्जन बाघ थपिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए  ।सन् २०१३ को गणनाअनुसार निकुञ्जमा ३५ देखि ५० बाघ थिए । निकुञ्ज घुम्न विदेशी पर्यटकलाई १ हजार ५ सय, सार्क मुलुकका लागि ७ सय ५० र स्वदेशीलाई १ सय रुपैयाँ शुल्क तोकिएको छ । जिप प्रवेशका लागि ३ हजार शुल्क छ । हात्ती सफारीमा विदेशीलाई २ हजार ५ सय, सार्कका लागि १ हजार ५ सय र स्वदेशीलाई ५ सय रुपैयाँ शुल्क तोकिएको छ । याे खबर आजकाे कान्तिपुरमा ठाकुरसिंह थारूले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *