अमेरिकी सीमाबाट १ लाख ३० हजार जना आप्रवासी पक्राउ

 

जेठ २३, वासिङ्टन । अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । 

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल वयस्क व्यक्ति ३६ हजार ८३८ जना रहेका छन् । 

null

यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाई गरे पनि त्यो रोकिएको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकाली सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहेका छन् । अध्ययनहरुले अधिकाँश आप्रवासीहरु मेक्सिको समेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ । 

मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् । 

अमेरिकी दबाबपछि मेक्सिकाली विदेश मन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका छन् । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *