कोरोनाको नाममा ब्रह्मलूट: ‘देश चम्बलको घाँटी’ बनेकै हो ?

चैत्र २१, काठमाडाैं । स्वास्थ्य मन्त्रालयले विना कुनै बोलपत्र कोटेसनमा करिव डेढ अरबका स्वास्थ्य सामग्री तथा उपकरणहरु खरिद गर्ने निर्णयले पुरै देश तात्यो । स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा मेडिकल माफिया विशाल पण्डितका कर्मचारी सो सरह रहेर वर्षौंदेखि मन्त्रालयबाट विशाल पण्डितको व्यापारिक लाभको निमित्त कार्य गर्दै आएका महेन्द्र श्रेष्ठको अन्तर्वार्ताहरु हेर्दा नपच्ने गरि घुस खाँदा कस्तो हालत हुँदो रहेछ भन्ने लकडाउनमा बसेका आम जनताले महसूस गरेका छन् ।   

अझ उप-प्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल तथा प्रदेश न ५ का मुख्य मन्त्रि शंकर पोखरेलको यस खरिद प्रक्रियाप्रतिको सार्वजनिक अभिव्यक्तिहरुले देशको राजनीतिमा “चम्बलको घाँटी” का सरदारहरुको हातमा पुगेको भान हुन थालेको छ ।  

अझ उप-प्रधानमन्त्री पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार बिष्णु रिमालसँग सम्बन्धित समाचार ह्याक गर्ने र हटाउने काण्डमा स्वयम् प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अली लागेको घटना पुष्टि हुनुले देश कसले र कसरी चलाएको छ भन्ने कुरा नै अन्योल बनेको छ । कमसेकम १४ वर्ष जेल जीवन बिताएर ठूलो संघर्ष गरेर आएका र जीवनको उत्तरार्धमा रहेका प्र.म.ओली आफैं यसरी लुट्न लागेका छन् भनेर कसरी पत्याउनु ?   

मन्त्रालयले चीनबाट खरिद गर्न लागेको स्वास्थ्य सामग्रीहरुको खरिद प्रक्रिया त रद्द गरेसँगै यसले खरिद प्रक्रियामा ठूलो अनियमितता रहेको समेत प्रमाणित गर्यो । यो खरिद प्रक्रियाको सम्बन्धमा नेकपा नेता झलनाथ खनालले मात्र सार्वजनिक विरोध गरे । अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेको हल्ला चलेपनि सार्वजनिक रूपमा उनकाे अभिब्यक्ति निस्किएकाे छैन । नेकपाका बरिष्ठ नेता माधव नेपाल बोल्दै बोलेनन् । यसबाट नेकपा कमाउ धन्दामा माधव नेपाल र प्र.म. ओली पक्षविच गठबन्धन भएको सहजै बुझिन्छ । यस कुराको पुष्टी गर्ने थप आधार भनेको खरिद प्रक्रियाका नाइके विशाल पण्डित माधव नेपालका नजिकका नातेदार समेत हुनु हो । जनताले “चम्बलको घाँटी” मा एक सशक्त सरदार थपिएको भान गरेका छन् । 

स्वास्थ्य मन्त्रालयले उक्त खरिद प्रक्रियामा अनियमितता भएको स्वीकारोक्ति सहित खरिद कार्य नेपाली सेनालाई जिम्मा दिएको छ । मन्त्रालयमा त्यत्रो साधन श्रोत हुँदा हुँदै सेनाको जिम्मा दिनुको कारण एउटै छ, सेनाको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रश्न उठाउन सक्दैन । आम जनताले यस सम्बन्धमा उठाउने सवाल भने अनेक छन् । यी नेता र कर्मचारीले यस्तो संकटमा समेत लुट्ने नियत मात्र राख्छन र कामै गर्न सक्दैनन् भने देशनै सेनाको जिम्मा लगाए भै गयो नि ? राज्यको अरबौं कोष उपभाेग गरेर बसेका मन्त्रालयका पदाधिकारीहरुलाइ किन पालेर राख्ने ?   

देशका उप-प्र.म., प्र.म.का सल्लाहकारहरु, मन्त्रि तथा महानिर्देशक नै काेराेनाकाे कहरबाट जनता त्रसित हुँदा काेराेनालाई नै कमाउ धन्धा बनाएर देशको ढुकुटीमा नाङ्गो नाच गरेको देखेरै मन्त्रालय मातहतकै अन्य निकाय पनि “कोरोना आतंक” देखाएर धमाधम ऐन नियम मिच्दै उपकरण खरिद गर्न थालेका छन् ।   

धरान स्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजै मात्र सात दिनको सूचना दिएर करोडौंको अस्पताल उपकरण खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ । न्याम्स, पाटन, कर्णाली, जस्ता अन्य स्वास्थ्य संस्थाहरु पनि यही मौकामा स्वास्थ्य सेवा छाडेर धमाधम उपकरण खरिद गर्ने प्रक्रियामा रातदिन लागेका छन् । अर्थ मन्त्रालय समेत आफैं राखेर लुम्बिनी बिकास कोषको प्रमुख बनाउने नाममा २ करोड लिएको आरोप समेत लागेकी आफ्नी श्रीमती सुजिता शाक्य मार्फत उठन्तीधन्दा चलाउने आलोचना खेप्ने गरेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त तुलसीपुर अस्पतालका मे.सु.लाई रातारात परिवर्तन गरेर उक्त अस्पतालको उपकरण खरिदमा आँखा गाडेका छन् ।   

यता मुख्य मन्त्रि श्रीमतीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ करोडको उपकरण खरिदमा अनावश्यक चासो राखेर हैरान पारेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन । गत हप्ता प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगिता भण्डारीले मुख्य मन्त्रि पोखरेल विरुद्द सार्वजनिक अभिव्यक्ति समेत दिएकी थिइन् ।   

सरकारले कोरोना अस्पताल बनाउने नाममा तल उल्लेखित सबै अस्पतालहरुलाई ५ देखि १२ करोड सम्म बजेट विनियोजन गरेको छ । राज्यकाे ढुकुटी लुट्न विभिन्न वहाना खाेजिरहेका कर्मचारी, मन्त्रि, तिनका सल्लाहकार, मेडिकल माफिया र विचाैलियालाई यतिबेला काेराेना प्रकाेप हैन दशैं बनेर नेपालमा प्रवेश गरेकाे छ । काेराेनालाई दशैं मानेर लुट्नेहरूले जनताले लगाउने साधारण मास्कमा पनि लुटेका छन् । काेराेना परीक्षण किट समेत कमजाेर गुणस्तरकाे ल्याएर जनताकाे स्वास्थ्यमा दिउसै खेलवाड गरिरहेका छन् । 

यि हुन् काेराेना अस्पताल बनाउने भनेर बजेट विनियाेजन गरिएका स्वास्थ्य संस्थाहरूः 

१. महाकाली अञ्चल अस्पताल, कञ्चनपुर 

२. सेती अञ्चल अस्पताल, धनगढी 

३. सुदुरपश्चिम उपक्षेत्रिय असपताल, डडेलधुरा 

४. नारायणी उपक्षेत्रिय अस्पताल, पर्सा 

५. गजेन्द्रनारायण सिं शगरमाथा अस्पताल, सप्तरी  

६. जनकपुर अञ्चल अस्पताल, धनुषा 

७. लुम्बिनी अञ्चल अस्पताल, रूपन्देही 

८. राप्ति अञ्चल अस्पताल, तुलसीपुर 

९. भेरी अञ्चल अस्पताल, बाँके 

१०. राप्ती उपक्षेत्रिय अस्पताल, धाेराही, दाङ 

११. एपिएफ अस्पताल, काठमाडाैं 

१२. वीर अस्पताल, काठमाडाैं 

१३. सिभिल अस्पताल, काठमाडाैं 

१४. त्रिवि शिक्षण अस्पताल, काठमाडाैं 

१५. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर 

१६. पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी 

१७. धाैलागिरी अञ्चल अस्पताल, बागलुङ 

१८. काेशी अञ्चल अस्पताल, माेरङ 

१९. मेची अञ्चल अस्पताल, झापा 

२०. वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी 

२१. मध्यपश्चिम क्षेत्रिय अस्पताल, सुर्खेत 

२२.भरतपुर अस्पताल, चितवन 

२३. भक्तपुर अस्पताल, भक्तपुर 

२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला 

२५. धुलिखेल अस्पताल, काभ्रे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *