धरानमा लक डाउनको असर, सवारी साधन बन्द, भानुचोकमा यात्रुको बिचल्ली

चैत्र १०, धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाए पछि सुनसरीको धरान सुनसान भएको छ । धरान लक डाउन भएपछि रात्री बसमा धरान आईपुगेका मानिसहरुको गन्तब्यसम्म जान नपाएर बिचल्ली भएको छ ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा लामो दुरीका सवारी नचल्ने भनेपनि बाहिर हिंड्नेहरुको बिचल्ली भएको हो । आज सोमबारबाट धरान लगायतका क्षेत्रहरुमा लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा गाडी चलाउन ट्राफिक प्रहरीले रोक लगाएपछि सर्बसाधारहरुको बिचल्ली भएको छ ।   

आज धरानका सडक बिहानैदेखि सुनसान भएका छन् । स्थानीइ डिपार्टमेन्ट र पसलहरु कमै खुलेका छन् । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ । निजी सवारी साधनहरु बिहान अलिअलि चले पनि अहिले पुर्ण रुपमा ठप्प भएका छन् । विशेषतः धरानबाट पहाडी क्षेत्रमा जाने यात्रु भानुचोकमा अलपत्र परेका छन् । सयौं यात्रु भानुचोकमा बन्दको बेला झैं सवारी कुरेर बसिरहेका छन् ।   

कोरोनाबारे अझै नागरिक तहमा सजगता नआउनु र नेपालका नागरिकमा चेतना अभावले यो अबस्थाको सिर्जना भएको धरान–१२ का प्रविन विशुखेको भनाई छ । 

धरान उपमहानगरपालिकाले ‘लक डाउन’को घोषणा गरेको  छ । कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नको लागि लक डाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताइन् । 

लक डाउन घोषणा भएसँगै धरानबाट विभिन्न स्थानमा छुट्ने कुनैपनि सवारी साधनहरु चलेका छैनन् । काठमाडौ, पोखरा लगायतबाट रात्री बसमा आएका यात्रुहरु भने भानुचोकमा अलपत्र छन् । भानुचोकमा अलपत्र परेका यात्रुहरुलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले उनीहरुलाई आ–आफनो गन्तव्यमा पु¥याउने व्यवस्था गरिने उपमेयर मञ्जु भण्डारीले जनाइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *