निर्मला हत्या प्रकरणः स्थानीयवासी प्रदर्शनमा, प्रहरीद्वारा अश्रुग्यास प्रहार, स्थिति तनावग्रस्त
“
काठमाडौँ, भदौ ५ । निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गरी प्रदर्शनमा उत्रँदा स्थिति तनावग्रस्त बनेको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको वास्तविक हत्यारा उम्काइएको भन्दै बजार बन्द गरेर प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले बल प्रयोग गरी अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय घेराउन गर्न खोजेपछि प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले प्रयोग गरेको ढुंगा लागि केही प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीले आरोप लगाएका थिए ।
नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन् । उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन् ।
गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो । पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताएका थिए ।
“