क्वारेन्टाइनबाट भाग्ने लमजुङका युवक, खोज्दै प्रहरी

वैशाख ८, लमजुङ । बेँसीशहर नगरपालिका-७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । 

कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको हो ।   

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बेंसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय  मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिए । 

उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र  र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् । उनकी आमा  र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।   

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए । घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *