राष्ट्रिय सेवा दलको टोली अब जनताको सुरक्षामा

वैशाख ७, विराटनगर । मोरङको जहदा ५ लक्षिमनीयाँमा राष्ट्रिय सेवा दल (एनसीसी)को टोली सुरक्षाका लागि खटिएका छन् । दुर्गा मावि लक्षिमनीयाँका विद्यार्थी अर्थात एनसीसीको टिम जनताको सुरक्षाका लागि खटिएको हो । 

जहदा गाँउपालिकाको समन्वयमा लकडाउनको घोषणा भएसँगै ‘प्रहरीको साथि म’सँगै एनसीसी सुरक्षाका लागि खटिएको हो । पूर्वी तालिम शिक्षालय याङसिलाबाट नेपाली सेनाद्धारा तालिम प्राप्त एनसीसी (राष्ट्रिय सेवक) विपद्प्रतिकार, समुदायमा जचेतना फैलाउने, दुव्र्यसन न्यूनिकरणमा काम गरिरहेको क्याप्टेन राहुल कुमार सिंहले बताए । उनका अनुसार १८-१८ गरी ३६ जना महिला-पुरुष विभिन्न गाँउमा सुरक्षा दिनका लागि खटिएका छन् । 

कोरोना भाइरस संक्रमणका कारण मुलुक संकटमा रहेकाले जनतालाई लकडाउन अवधिभरी घरमा रहन आग्रहसहित जनताको सुरक्षाका लागि खटिएको उनको भनाई छ । विहान ५ बजे देखि १० बजेसम्म र साँझ ४ बजे देखि ७ बजेसम्म लक्षिमनीयाँ चौक देखि सोहि क्षेत्रका गाँउवस्तीमा खटिने उनले बताए  । 

‘हामीले लिएको तालिमको सदुपयोग गर्ने यो अवसर पनि हो र चुनौती पनि छ,’ उनले भने- ‘हामीले प्रयोग गरेको मास्क आफैले किनेर लगाएका हौं ।’ बिहानको नास्ता गाँउपालिकाले उपलब्ध गराए पनि खाना खान उनीहरु घरै पुग्ने गर्दछन् । 

एनसीसीसँगै ‘प्रहरीको साथी म’का २५ जना खटिएको प्रहरीको साथी म का सदस्य इनेस शाहले जानकारी दिए । ‘हामी सबै कलेजका विद्यार्थी हौं विदाको समय सुरक्षाकर्मीलाई जनताको जिउ धनको सुरक्षाका लागि साथ दिएको हो’ उनले भने । सुरक्षाकर्मीसँगै खटिएका ‘प्रहरीको साथी म’ र एनसीसी समूह कोरोना भाईरस संक्रमणको बढ्दो जोखिमसँगै आफ्नै स्वास्थ्य सुरक्षा जोखिममा देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *