मतदाता नामावलीमा दर्ता गराउनेको भीड बढ्दो

भक्तपुर, ११ साउन । मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा भीड लाग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको प्रमुख उमेश राईले जानकारी दिनुभयो ।

आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु गर्न थालिएको हो । आजसम्म एक हजार ७०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएर नाम दर्ता गराएको जानकारी दिँदै उहाँले स्थानीय तहको निर्वाचन सम्पन्न भएको र नयाँ निर्वाचनको तयारी भएकाले मतदाताले उत्साहजनक रुपमा सहभागी भएको बताउनुभयो ।


मतदाता नामावली संकलन गर्नेको भीड लाग्न थालेपछि कार्यालयले साउन १६ देखि साउन ३२ गतेसम्म मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यालयबाट समेत नामावली दर्ताको काम गरिने प्रमुख राईले बताउनुभयो । चार नगरपालिका रहेको भक्तपुरमा ३८ वटा स्थानीय तह रहेका छन् । गत वैशाख ३१ गते भएको निर्वाचनमा भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको थियो । भक्तपुरमा हाल एक लाख ६० हजार ५२९ जना मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *