निर्मला हत्या प्रकारणका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
“
काठमाडौँ, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का नेता एवं सांसद लेखराज भट्टले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे उच्चस्तरीय न्यायिक छानविन समिति गठन गर्न माग गरेका छन्।
भट्टले शनिबार विज्ञप्ति जारी गरी बालिका पन्तको बलात्कापछि हत्याको घटनापछि विकसित घटनाक्रमप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। १३ वर्षीया बालिका निर्मलाको गत साउन १० गते साथीको घरबाट फर्किँदै गर्दा बलात्कारपछि हत्या भएको थियो। बलात्कारपछि हत्याको घटना सार्वजनिक भएदेखि नै कञ्चनपुरमा आन्दोलन चर्किरहेको छ।
उनले निर्मलाको हत्याको घटनाबारे अनुसन्धान र कारबाहीको माग गरेपनि सरकारले घटनालाई सामान्य रुपमा लिएको आरोप लगाएका छन्। उनले आन्दोलन चर्किएपछि सुरक्षा स्थिति मजबूत पार्न र घटनाको निष्पक्ष छानविन गर्ने दिशमा सरकार गम्भीर नभएकाले घटनाले अनपेक्षित मोड लिएको उल्लेख गरेका छन्।
उनले आन्दोलनमा सहभागी एक युवकको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। ‘शान्तिपूर्ण प्रदर्शनलाई अराजकरुपमा लैजान खोज्ने गैरराजनीतिक प्रवृत्तिको निशानमा परेका ती युवकका परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु ,’ भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सांसद भट्टले निर्मला हत्याकाण्डबारे भरपर्दो तरिकाले अनुसन्धान गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि माग गरेका छन्। भट्टले स्थानीय प्रहरी प्रशासनमाथि आम जनताको विश्वास र भरोसा टुट्ने अवस्था आउन नदिनसमेत आग्रह गरेका छन्।
उनले बालिकाको हत्यापछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकलाई सहीद घोषणा गर्न माग पनि गरेका छन्।
“