नेपाली कांग्रेस भ्रष्टाचारीहरूको पार्टी : एमाले वरिष्ठ नेता नेपाल

साउन ११, वीरगंज । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भविष्यमा नेपाली कांग्रेस पार्टी भ्रष्टाचारीहरूको पार्टी कहलिने बताएका छन् । नेशनल मेडिकल कलेजमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा नेता नेपालले कांग्रेस पार्टीविरुद्ध सो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

उनले पत्रकारहरूको प्रश्नको जवाफमा कांग्रेस पार्टी पहिलो चरण, दोस्रो चरणमा ओरालो लाग्दै गरेको कारण उसले प्रदेश नम्बर २ बाट सय सिट जित्ने सोच बनाउनु दिवास्वप्न मात्र हुने टिप्पणी गर्नुभयो । उनले कांग्रेस पार्टीले जनता र देश निर्माणको हकमा के नै गरेको छ र उसलाई प्रदेश नं. २ मा १२७ सिटमध्ये १०० सिट पाइन्छ भनी प्रश्न गरे । उनले भने–प्रधानन्यायाधीश महाभियोग प्रकरण गर्ने, प्रहरी बलमा मनोमानी गर्ने, भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गर्नमा माहिर कांग्रेस पार्टी प्रदेश नं. २ मा होइन, देशमैं भविष्यमा भ्रष्टाचारी पार्टी कहलिने छ ।

उनले देश विकास, मधेस विकास, आदिवासी, दलित, मुस्लिम, पिछडावर्ग, महिला, जनजातिको उत्थानमा एमालेले अग्रणी भूमिका खेलेको दाबी गरे । नेता नेपालले फास्ट ट्र्याक सडकको निर्माण आफू प्रधानमन्त्री भएको बेला शिलान्यास भएर गति लिएको बताए । त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, वीरगंज–पथलैया आठलेन सडक एमालेको सरकारको पालामा शिलान्यास भएको र कामले गति लिएको बताए ।

उनले सामाजिक सुरक्षा भत्ता, सीमा विकास कार्यक्रम, जनता आवास कार्यक्रम जस्ता जनतामा औधि लोकप्रिय कामहरू एमालेले ल्याएको दाबी गरे । उनले मधेस र मधेस विरोधी पार्टी भन्नेहरू एमालेको विकास अभियान हेरेर आत्तिएका मात्र हुन् भन्दै मधेस र मधेसीको मात्र होइन एमाले समग्र देशको विकास गर्ने पार्टी भएकोले कसैले गलत प्रचारप्रसार गर्दैमा त्यसको पछि नपर्न पनि सुझाए । नेता नेपालले राजपालाई निर्वाचनमा आएर आप्mनो माग, एजेन्डालाई वैधानिकता दिन चुनौती दिए ।

उनले भने–राजपाले उठाएका मागहरू जनताले चुनावको माध्यमबाट पनि स्विकार्न सक्छ । उसको एजेन्डा ठीक बेठीक भन्ने मापन गर्ने सबैभन्दा सजिलो बाटो चुनाव हो । त्यसैले म राजपाका नेताहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्छु, नेता नेपालले भने ।

प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र साह, सांसदहरू राजकुमार गुप्ता, बिचारीप्रसाद यादव, जयप्रकास थारू, जुनैद अंसारी, बाराका एमालेका नेता विनोद साह, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लालबाबू शेख, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, एमाले नेता बसरुद्दिन अंसारी, बालगोपाल थापा, रामकिशोर सिंह परागलगायतको उपस्थिति थियो । कार्यक्रमलाई तुलसी भण्डारीले सहजीकरण गरेका थिए ।

यसैगरी महानगर सङ्गठनको संयोजक उस्मान अंसारीको अध्यक्षतामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मेडिकल कलेजमा आयोजित भेलामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अगुवा कार्यकर्ताहरूलाई तेस्रो चरणको निर्वाचनमा एमालेलाई जिताउन आ आफ्नो तर्फबाट लाग्न निर्देशन पनि दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *