होडिङ वोर्डको होडवाजी, कुरुप बन्दै बिर्तामोड

सुरेन्द्र भण्डारी, बिर्तामोड । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा कुनैपनि वस्तुको सबैभन्दा बढी व्यवसायिक कारोबार हुन्छ । व्यवसायिक कारोबारको प्रतिस्पर्धाका लागि विज्ञापनका लागि होडबाजी चल्छ । कारोबार बढाउन हुने यो होडबाजीमा वस्तु व्यापारका विज्ञापनका होर्डिङ बोर्डले बिर्तामोड दिनदिनै कुरुप हुँदै गएको छ ।

होर्डिङ बोर्डले बिर्तामोड कुरुप बनाएको विषयमा अनुगमन गर्ने निकाय बिर्तामोड नगरपालिका बेखबर बनेको छ । जानकारी भएरपनि नगरपालिकाले कारवाही अघि नबढाउँदा व्यापारिक कारोबारका होर्डिङ बोर्ड होटल, किराना पसलदेखि मदिरा पसलसम्मले सडकनै छोप्ने गरि राख्ने गरिएको छ । नियम विपरित होर्डिङ बोर्ड राख्नेमा बहुराष्ट्रिय कम्पनीदेखि मदिरा कम्पनीसम्म छन् ।

नियमविपरित राखिएका होर्डिङ बोर्डका कारण सर्वसाधारणले सडक पेटीमा समेत सहजै हिडडुल गर्न कठिनाई ब्योहोरिरहेका छन् । अवव्यस्थित होर्डिङबोर्डका कारण सडक सौन्दर्यता गुमेको र सर्वसाधारणलाई आवत जावतमा समेत समस्या पर्न थालेको स्थानीयवासी बताउँछन् । सार्वजनिक स्थानमा ठूला होर्डिङ बोर्ड राख्न पाइदैन । तर, नियम विपरित जथाभावी बिर्तामोड दमक, भद्रपुर , काँकरभिट्टा, धुलावारी लगायतका मुख्य बजारमा होडिङवोर्ड राखिएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानी बाहिरका जिल्लामा समेत होर्डिङ बोर्ड हटाउने निर्देशन दिएको छ । सहरी सौन्दर्य कायम राख्न र दुर्घटना कम गर्नका लागि अभियानात्मक रुपमा सो काम गर्न मन्त्रालयले निर्देशन दिएको हो । तर, मन्त्रालयको निर्देशनलाई अटेर गरेपछि झापाका मुख्य बजारमा त छाड मछाड गर्दै सार्वजनिक स्थानमा नै होडिङ वोर्ड राखिएको छ ।

बिर्तामोड नगरपालिकाले होडिङ बोर्ड राख्नका लागि ७२/७३ मा टेण्डर आह्वान गरेको थियो । २०७४/०७५ मा टेण्डर समाप्त हुने गरी सम्झौतासंगै होडिङ बोर्ड राख्न अनुमति दिएको छ । तर, नियम विपरित होडिङ बोर्ड राखिँदा बिर्तामोडको सुन्दरता दिनप्रतिदिन बिग्रदै गएको छ । बिर्तामोड नगरपालिकाले विराटनगरको आकृति एडभटाइजिङ प्रालिलाई होडिङ बोर्ड राख्नका लागि ०७२/०७३ देखि २०७४/०७५ सम्मका लागि वार्षिक ४ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाएको नगरपालिकाका प्रशासन प्रमुख मेघराज बास्तालाले बताए । तर, सार्वजनिक स्थानमा अहिले अनाधिकृत रुपमा होडिङ बोर्ड राखिएको छ ।

नियम विपरीत होडिङ बोर्ड राखिएपछि नगरपालिकाले पटक–पटक नियमानुसार होडिङ बोर्ड राख्न आकृति एडभटाइजिङलाई भने पनि आफूखुसी होडिङ बोर्ड राख्ने परिपाटीले बिर्तामोडको सुन्दरता बिग्रिएको छ यस विषयमा तत्काल नगरपालिकाकाले कारवाही अघि बढाउँछ । सडक पेटीदेखि घर, विद्युतका पोल, रुखमा समेत होडिङ बोर्ड राखिएको छ । ठूलठूला होडिङ बोर्ड राखिएकै कारण हावाहुरीले होडिङ बोर्ड झारेर दुर्घटना निम्त्याउने जोखिम बढे पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ । विभिन्न रक्सी कम्पनीका बोर्ड, शैक्षिक संस्थाका बोर्ड, विभिन्न व्यवसायिक प्रयोजनका होडिङ बोर्डहरु राख्ने गरेको पाइएको छ । प्रहरी प्रशासनकै आँखा अगाडि यस्ता होडिङ बोर्ड प्रशस्तै भेटिए पनि प्रहरी पनि रमिते बनेको छ ।

साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *