राप्तीका स्थानीयलाई अर्को पीडाः हावाहुरी र असिनापानीले पुर्यायो ठुलो क्षति

वैशाख ७, चितवन ।  कोरोना भाइरसका कारण त्रसित बनेका चितवन राप्ती नगरपालिकाका स्थानीयलाई लगातार भएको हावाहुरी र असिना पानीले थप पीडा दिएको छ ।  

शुक्रबार बेलुका पछिल्लो एक वर्षकै ठुलो पानीसहित हावाहुरी आएको थियो भने शनिबार बेलुका भीषण असिनापानी परेको थियो । जसबाट अन्य पालिकाको तुलनामा राप्ती नगरपालिकामा ठुलो क्षति पुगेको छ ।  

राप्ती ४ का वडाध्यक्ष शमशेर लामाले आफ्नो वडामा एक सयभन्दा बढी घरमा असिनाले जस्तापाता प्वाल पारेर क्षति पुर्याएको बताए । कयौको घरमाथि राखिएको पानीको हिल ट्यांकीमा क्षति पुगेको छ ।  

वडाध्यक्ष लामाका अनुसार ५ वटा घरको छानो उडाएको छ हुरीले । असिनाले जस्तानै प्वाल पारेको समस्या जताततै छ । हावाहुरी र असिनापानीले पुर्याएको क्षतिको विवरण संकलनका लागि वडाध्यक्ष लामा सहित सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधीहरु खटिएका छन् ।  

क्षति भएकाहरुलाई राहत दिनेबारे छलफल भईरहेको वडाध्यक्ष लामाले बताए । ठुलो क्षति भएकाले केन्द्र सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।  

सो वडाका तरकारी खेतीमा पनि ठुलो क्षति पुगेको छ । राप्तीको पहाडी वडामा पनि ठुलो क्षति पुर्याएको छ । पहाडी क्षेत्र भएकाले तत्काल पूर्ण विवरण आउन नसक्ने राप्ती १० का वडाध्यक्ष अम्मर बहादुर तामाङले बताए । यहाँ लगाईएको मकै पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।  

‘पहाडी क्षेत्रमा अहिले मुख्यवाली मकै नै हो । यति क्षति भयो भनेर भन्न सकिने अवस्था छैन । घरको जस्ता प्वाल पारेको छ, मुख्यवाली मकै ढुटो पारेको छ’, वडाध्यक्ष तामाङले भने ।  

राप्तीको ४ वटा वडा पहाडी क्षेत्रमा पर्छ । यहाँ बेमौसमी तरकारी पनि लगाइएको छ । असिनापानीले तरकारी खेतीमा पनि ठुलो क्षति पुर्याएको वडाध्यक्ष तामाङले जानकारी दिए ।  

नगरका अन्य वडाहरुले पनि हावाहुरी र असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *