क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड, पछि परे सलाह र मेसी

“एजेन्सी, भदौ १५ ।पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान एवं युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फरवार्ड घोषित भएका छन् । रोनाल्डोले बार्सिलोनाका लिओनेल मेसी र लिभरपुलका मोहमद सलाहलाई पछाडी पार्दै उपाधि जितेका हुन् ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनकै गोलको मदतले रियल च्याम्पियन बन्न सफल भएको थियो । रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल नै गरेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जिते ।

च्याम्पियन्स लिगमा रोनाल्डोले गत सिजन १३ खेलमा १ हजार १ सय ७० मिनेट मैदानमा बिताए । तीन असिस्ट गरेका रोनाल्डोले १५ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे । उनले हालसम्म पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् ।

रोनाल्डोले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक हासिल गरे । दोस्रो स्थानका मोहमद सलाहले २ सय १८ अंक जोड्दै प्रतिस्पर्धा दिएका थिए । तेस्रो स्थानका लिओनेल मेसीले ४३ अंक मात्रै पाए। चौथो स्थान प्राप्त गरेका किलियन एमबाप्पेले १७ अंक हासिल गरे । पाँचौ स्थानमा रहेका एडिन जेको र ह्यारी केनले समान १५ अंक पाए।

मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान रहेको छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *