यी बलिया माइक्रोफाइनान्सलाई मर्जरमा गइरहन पर्दैन
असोज ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुलाई मर्जरमा जान बाटो खुल्ला गरेपछि धेरै माइक्रोफाइनान्सहरु मर्जर प्रक्रियामा गइरहेका छन् ।
खास गरी साना माइक्रोफाइनान्सहरु मर्जरमा जान तयारी गरिरहेपछि केहि ठूला माइक्रोफाइनान्स भने आर्थिक रुपमा बलियो भएकोले मर्जरमा जान नपर्ने अवस्थामा छन् । देशभरका माइक्रोफाइनान्स मध्ये हातमा गन्न सकिने केहि माइक्रोफाइनान्सको अवस्था उत्साहजनक छ ।
गत असार मसान्तसम्मको तथ्यांक अनुसार हाल देशभर ९१ वटा लघुवित्तहरु सञ्चालनमा रहेकोमा देशभर कारोबार गर्ने राष्ट्रिय स्तरको इजाजत पाएका लघुवित्त ४१ वटा छन् । ५० वटा माइक्रोफाइनान्सहरु संघीय संरचनाअनुसार प्रदेश स्तरमा जानुपर्ने अवस्था छ ।
अहिले साना माइक्रोफाइनान्सहरु मर्जरमा जाने वा ठूलो लघुवित्तसँग विलय हुने गृहकार्य गरिरहेको अवस्थामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्था, साना किसान विकास लघुवित्त वित्तीय संस्थाहरु भने आफ्नो अस्तित्वमै अडिने अवस्था छ ।
यसैगरी स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, मेरो लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त, एनआईसी एशिया लघुवित्त, नेपाल ग्रामीण विकास लघुवित्त, आरएमडीसी लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वरोजगार लघुवित्त, आरएसडीसी लघुवित्त लगायतका लघुवित्त वित्तीय संस्थाहरु पनि तुलनात्मक रुपमा बलिया रहेका छन् ।