कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका १२५ जनाको पहिचान

चैत ११, काठमाडौं। फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक सय २५ यात्रुको पहिचान भएको छ। कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै जहाजमा आएकामध्ये एक सय २५ यात्रुको पहिचान भएको हो।   

प्रहरीका अनुसार चैत ४ गते कोरोना संक्रमित युवती आएकै कतार एयरवेजको जहाजमा उनीहरु नेपाल आएका थिए। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ती युवतीसँगै आएका यात्रुको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो।   

सोही अनुसार अध्यागमनले एक सय ५८ जनाको नाम सूची पठाएको उनले बताए। ती मध्ये एक सय २५ जनाको ठेगाना प्रहरीले पहिचान गरिएको हो। ‘उनीहरुको ठेगानाअनुसार स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, ‘सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको अनुगमनम प्रहरी र स्थानीय प्रशासनले गर्नेछ।’ 

क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरु सबैको स्वास्थ्य जाँचसमेत अनिवार्य गरिने प्रहरीले जनाएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले उनीहरुको ठेगाना भएको स्थनीय प्रहरीलाई पत्राचार गर्ने तयारी सुरु गरेको छ। बाँकी अन्य यात्रुको समेत ठेगाना पत्ता लगाउने कोसिस भइरहेको प्रहरीले जनाएको छ। 

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका कोही व्यक्ति भए नजिकैको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थामा समेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ। चैत ४ गते काठमाडौं उत्रिएकी ती युवतीको चैत ९ गते कारोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि सक्रियता देखाएको सकरकारले आजदेखि लागू हुनेगरी एक हप्तासम्मका लागि लकडाउनसमेत गरेको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *