भाग २ : यी इन्जिनियर जसले सर्वसाधारणका लागि कम्प्युटर भित्र्याउने आँट गरे
“
काठमाडौँ, भाद्र १९ । ……. राणाकालीन समयमा पढ्ने भन्ने कुरा सामान्य मानिसको पहुँचमा थिएन् । जो राणाका निकट हुन्छन् उनीहरुले मात्र पढ्ने अवसर पाउँथे त्यतिबेला ।
यदि त्यस समयमा कुनै सामान्य व्यक्तिले पढ्ने चाहना गरे भने मात्र पनि उसलाई राणाहरुले सजाय दिने गर्दथे । पढ्ने भनेको पण्डितका छोराले मात्र हुन भन्ने मान्यता थियो । पढेलेखेका युवाले राणाको निरकुंश शासनका बारेमा थाहा पाएपछि उनीहरुको शासन नै ढल्छ भन्नेमा चिन्तित थिए राणाहरु ।
इन्जिनियर शंखरनाथका जिजुबुवा विष्णुनाथ शास्त्री कुनै बेला नेपालका प्रख्यात गुरु थिए । अहिलेसम्म पनि नेपाली शिक्षा प्रणालीको विकासमा उनको योगदान अतुलनीय मानिन्छ ।
रिमालको पुर्खामध्ये जिजुबुवा विष्णुनाथ मात्र नभई हजुरबुवा श्रीनाथ रिमाल पनि उत्तीकै चर्चित छन् । उनी मल्लकालीन समयका राजा देखि शाहकालीन राजा त्रिभुवनको पालासम्म पनि राजकविराज (राजाका बैद्य) का रुपमा थिए । राजा त्रिभुवन आफ्नो उपचारका लागि सिँगापुर जाँदा उनलाई साथै लिएर गएका थिए । उनको जीवन राजपरिवारको सेवा गर्दागर्दै बित्यो ।
आफ्नो परिवार राणाका निकटका मान्छे भएकै कारण आफूले पढ्न पाएको भन्नेमा विश्वस्त छन् इन्जिनियर शंखरनाथ ।
उनी नेपालमा एसएलसी उत्तीर्ण भएलगतै छात्रवृत्तिमा भारतमा गएर इन्जिनियरिङ पढ्ने अवसर पाएका थिए । उनी जतिबेला कक्षा १० मा पढ्दै थिए, त्यतिबेला दोस्रो विश्वयुद्ध भर्खर सकिएको थियो । विश्वयुद्ध सकिएपछि अमेरिकाले विभिन्न देशका विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा अमेरिकाले गरेको थियो ।
त्यतिबेला उनको ब्याचका २० जनाले साइन्स, इन्जिनियरिङ लगायतका विषयमा विभिन्न देशमा छात्रबृत्तिमा पढ्ने अवसर पाएका थिए । जसमा रिमालले पनि अवसर पाए । उनी २०१० सालमा पढ्नका लागि भारत गएका थिए ।
‘हाम्रो पालामा दरबार हाइस्कुलमा २० जना मात्र विद्यार्थी थिए, जसमा हाम्रो विद्यालयमा चार जना मात्र महिला सहपाठी थिए ।’ धेरै समय बितिसकेकाले उनलाई साथीहरुको नाम खासै याद छैन ।
‘जमाना नै कहाँबाट कहाँ पुगिसक्यो, सबै कुरा याद गरेर साध्य पनि त हुँदैन नि !’ उनी हाँस्दै मकालुलाई भन्छन् ।
उनले २०१३ सालमा स्ट्रक्चर इन्जिनियरिङ पढ्दापढ्दै नै नेपालको सरकारी सेवामा लागेर काम गर्ने अवसर पाएका थिए ।
जतिबेला उनी सरकारी सेवामा आवद्ध भए त्यतिबेला सर्बाेच्च अदालतको निर्माणको काम चलिरहेको थियो । अदालत बनाउने कामका लागि सुरुमा अरुले नै डिजाइन गरिसकेका थिए ।
उनी नियुक्त भएर आएपछि अदालतको निर्माणको काममा उनी पनि सँगै काम गर्न थाले । उनी भन्छन्, ‘पहिलेका ठेकेदारलाई हामीले केही अह्राउनै पर्दैनथ्यो, उनीहरु हामीभन्दा पनि बढी काममा निपुण थिए ।’
सरकारी सेवाबाट हटाइएर पनि पुन: सरकारी सेवामै
काम गरेको तीन महिना नपुग्दै करारमा नियुक्त कर्माचारीलाई हटाउने कुरा चल्यो । त्यसमा उनी पनि परे ।
नोकरीबाट हटाइएपछि उनी पढाइ सकेर जर्मनीमा गई बस्न थाले र उतै आफ्नो कामलाई निरन्तरता दिँदै गए । उता गएर बस्दै गर्दा यता नेपालमा फेरी सरकारले इन्जियरहरु राख्ने निर्णय गरेको रहेछ । जसमा उनको नाम पनि संलग्न थियो ।
यता नेपाल फर्किसकेपछि मात्र उनले त्यसबारे जानकारी पाए । २०१५ सालको अन्त्यतिर उनले पुनः नियुक्ति लिएर काम गर्न सुरु गरे । नियुक्ति पाइसकेपछि उनले सरकारी रुपमा थुपै्र डिजाइनिङको काम गरिसकेका थिए । कामकै सिलसिलामा उनले २०१७ सालमा शहिदगेटको डिजाइन गर्ने अवसर समेत पाएका थिए ।
तपाईंले डिजाइन गरेका भवनहरु अझै भत्किएका छैनन् किन भन्ने प्रश्नमा जवाफ दिन्छन्, ‘मैले गरेको डिजाइन कस्तो थियो मलाई थाहा छैन, संरचना बनाउने कुरामा त ठेकेदारको नै विशेष भूमिका रहन्छ,’ उनी थप्छन्, ‘त्यतिबेलाका ठेकेदारहरु अहिलेका ठेकेदारजस्तो आफू काम नगर्ने अरुलाई नै अह्राउने खालका थिएनन्, उनीहरु ज्यामीसँग लागेर काम गर्थे । सायद उनीहरुको निरीक्षण राम्रो भएर पनि हो कि ।’
कुनै संरचनाको निर्माण गर्दा इन्जिनियरले त्यसको चित्र मात्र कोर्नु मात्र नभई त्यसको सामाजिक, आर्थिक, साँस्कृतिक लगायतका पक्षलाई पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । आफूले डिजाइन गर्दा सबै पक्षको पहिले नै अनुसन्धान गरेर मात्र काम गर्ने गरेको जानकारी दिए ।
त्यतिबेला काम गर्दा राजाको बारेमा नकारात्मक कुरा गर्न नपाइने भए पनि अन्यको बारेमा खण्डन गर्दा दण्डित हुनुपर्दैनथ्यो । आफूलाई कुनै कर्माचारीसँग चित्त नबुझेमा उनीहरुलाई गाली पनि गर्थे उनी ।
त्यतिबेला सरकारी रुपमा काम गर्ने अवसर पाए पनि उनलाई सरकारी गतिविधि भनै खासै चित्तबुझ्दो लागेको थिएन् । तर आफूलाई सरकारले दण्डित गर्ने डरले भने उनी चुप नै बस्थे ।
उनले डिजाइन गरेको सहिदगेट अहिलेसम्म पनि पुननिर्माण गर्नुपरेको छैन भने २०७२ सालको भूकम्पले केही पनि क्षति पुर्याएको छैन । यस अर्थमा पनि उनले डिजाइन गरेको संरचना बलियो भन्न मिल्छ ।
आफ्नो काममा सधैं दृढ उनलाई २०१८ सालमा राजनीतिक नियुक्ति भन्दै काममा डिमोसन गरियो । डिमोसनपछि उनले त्यही वर्ष नै राजिनामा दिए । तर उनको राजिनामा स्विकृत भएन ।
‘त्यतिबेला आफ्नो राजनीतिक नियुक्ति नभए पनि आरोपका आधारमा मात्र डिमोसन गरिएको थियो ।’ उनी थप्छन्, ‘सरकारी जागिर गएर पनि म बेरोजगार हुन्छु भन्ने मलाई थिएन्, बाहिरबाट पनि साथीभाइ तथा चिनेजानेका व्यक्तिको डिजाइन बनाइ नै रहेको थिएँ ।’
उनले राजाका छोरीका घरहरु पनि डिजाइन गरेका थिए । जसलाई शहिदगेट जस्तै भूकम्पले अहिलेसम्म पनि क्षति पुर्याएको छैन ।
उनले बनाएका महत्वपूर्ण डिजाइहरुमध्ये हाल भएको नेपालको झण्डा पनि एक हो । जसलाई २०१९ सालमा डिजाइन गरिएको थियो ।
सम्बन्धित समाचार: यी इन्जिनियर जसले सर्वसाधारणका लागि कम्प्युटर भित्र्याउने आँट गरे
“