कोरोना महामारीः के बैंकले ब्याजमा छुट दिन्छ ?
चैत्र १४, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण उद्योग–व्यवसाय धरासायी हुने खतरा बढेको छ ।
उद्योगी, व्यवसायीहरु त्रसित छन् व्यवसाय चौपट हुने डरमा । उनीहरुले बैंकको ब्याजमा छुट दिन सरकारलाई पटक पटक आग्रह गर्दै आएका छन् । यद्यपी बैंकहरुले भने तत्कालै छुट नदिने भएका छन् । कोरोना प्रभावितहरुका लागि भने लिएको ऋणको सावाँ तथा ब्याज एक महिना ढिला तिरे पनि हर्जना नलिने गरी परिपत्र गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघि अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले चैत मसान्तसम्म बैंकको साँवा तथा ब्याज असुल गर्ने कार्य स्थगन गर्ने निर्णय गरेको थियो तर यो नियम पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्रै उच्च स्तरीय समितिले गरेको निर्णय लागू हुने बताइएको छ । तत्कालै ब्याज छुट हुने सम्भावना भने नरहेको कामु गभर्नर चिन्तामणि सिवकोटीले बताए । उनका अनुसार तत्काललाई कोरोना प्रभावितहरुका लागि चैत मसान्तमा तिर्नुपर्ने ऋणको साँवा अथवा ब्याज अर्को महिना तिरे पनि हुने गरी परिपत्र गरिने छ ।
त्यस्तै वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले उद्योगी, व्यवसायीहरुको ऋणको ब्याजदरमा सहुलियत नभइ तिर्ने समय मात्रै थप गरिने बताए ।
साँवा तथा ब्याज तिर्ने थप समयावधी पनि नियमित सञ्चालन भएका व्यवसाय, जसमा ऋण लिँदा जे आम्दानी देखाइएको छ, त्यो आम्दानी कोरोना भाइरसको संकटका कारण घटेको भएमात्रै सो ऋणिले यो सुविधा पाउने उनको भनाइ छ ।
उच्च स्तरीय समितिले गरेको निर्णयले चैत महिनाको ब्याज मिनाहा भने नहुने उनले बताए । चैतमा तिर्न नसके वैशाखमा तिर्नु भनिएको हो, चैतमा नतिरे पनि अर्को महिना त तिर्नै पर्नेछ ।
कोरोनाका कारण विश्वभरका व्यवसाय प्रायः ठप्प छन् । कोरोना संक्रमण देखा परेको अधिकांश देशमा लकडाउनको घोषणा गरिएको छ । नेपालमा पनि मंगलबारदेखि एक सातासम्म लागु हुनेगरी लकडाउनको घोषणा गरिएको छ ।
विश्वभर कोरोना संक्रमणबाट हालसम्म २३ हजार बढीको मृत्यु भइसकेको छ भने नेपालमा ३ जना संक्रमित छन् जसमध्ये एकजना उपचारपछि निको भइसकेका छन् ।