‘रवि लामिछानेका लागि मर्न तयार छौँ, न्याय नपाए तेस्रो जनआन्दोलन गर्छौँ’

भदौ २, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने रिहाइ र स्व. शालिकराम पुडासैनीको न्यायका निमित्त निष्पक्ष छानविनका लागि प्रदर्शन (कार्यक्रम) गरिने भएको छ ।   

प्रदर्शनबारे जानकारी दिन आज (सोमबार) आयोजित कार्यक्रममा सामाजिक अभियान्ता नगेन्द्र देउजाले शालिकराम पुडासैनीको हत्यामा रविको हात नभएको स्पष्ट पार्दै रविलाई फसाउन सरकार लागि परेको आरोप लगाए ।   

रविविरुद्धको अभियोग खारेज गर्नुपर्ने देउजाको माग छ । कार्यक्रममा उनले भने, ‘मन्त्री, नेताका छोरा फस्छन् भनेर एउटा पत्रकारको हत्यामा अर्का निडर, निमुखा जनताका आवाज, आवाज विहिनका आवाज रवि लामिछानेलाई फसाइयो । निर्मला प्रकरणमा रवि र पुडासैनीले भूमिका निभाउँदै गर्दा नियोजित रुपमा एक तीर दुई शिकारका रुपमा षडयन्त्र गरी फसाउन खोजिएको हो । हामीले निर्मला बलात्कार तथा हत्या प्रकरण, भ्रष्टाचार, वाइडबडी काण्डका लागि आन्दोलन गर्न लागेका हौँ ।’ 

यस्तै उनले भोलि दिउँसो ३ बजे माइतीघर मण्डलामा आयोजना हुने ‘रवि लामिछाने र स्व.शालिकराम पुडासैनीको न्यायका लागि’ दबाब दिने कार्यक्रममा कुनै पार्टीको झण्डा, ब्यानर, क्याप नलगाई दलीय स्वार्थभन्दा माथि उठेर सच्चा नागरिकको हैसियतले उपस्थित हुन पनि आग्रह गरे ।   

निर्वाचनका बेलामा जस्तो एक लिटर पेट्रोल, मासुभातमा जनता नबिक्ने भन्दै उनले रोजगारीको ग्यारेण्टी दिने भनेको सरकार बलात्कारको ठेक्का लिएर बसेको समेत आरोप लगाए । शान्तिपूर्ण आन्दोलनलाई दबाइएमा झन् ठुलो आन्दोलन गर्ने तथा तेस्रो जनआन्दोलन गर्ने उनको चेतावनी छ ।   

त्यसैगरी अर्का सामाजिक अभियान्ता जेनी ताम्राकारले चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले रविको समर्थनमा आन्दोलनमा उत्रिएका चितवनवासीलाई चितवन छोड्न चेतावनी दिएको बताए । रविमाथि घटेको घटना जस्तै अन्य पत्रकारमाथि पनि घट्न सक्ने भन्दै उनले उपस्थित सबै पत्रकारलाई सचेत गराए ।   

उनले भने, ‘करेन्ट लगाइएको जस्तो देखिन्छ भिडियोमा । पोष्टमार्टम रिपोर्ट नआउँदै लाश जलाइएको छ । रेणु दाहाल पनि रविको दुश्मन हुन् । ग्रान्ड डिजाइन गरी रविलाई नियोजित रुपमा फसाइँदैछ ।’ 

सामाजिक अभियान्ता सुरेश गिरीले आफूहरु रविका अन्धभक्त नभएको प्रष्ट्याए । रविको सम्पत्तिमाथि छानविन हुनुपर्छ भन्नेलाई नेतृत्व सुधार्न उनले चेतावनी दिए । उनले भने, ‘शालिकराम आत्महत्या प्रकरणमा पनि राजनीतिकरण भयो । सत्यतथ्य छानविन नगरी रविलाई फसाउन राज्य संयन्त्र लागि पर्यो ।’     

यदी रवि दोषी देखिए आफूहरु कारवाहीका लागि उत्रिने पनि उनले विश्वास दिलाए ।   

त्यस्तै सामाजिक अभियान्ता चितवनकी लक्ष्मी सिग्देलले हत्यारालाई पर्दापछाडी राखि निर्दोष रवि लामिछानेलाई पर्दाअगाडी उभ्याइएको आरोप लगाइन् । आत्महत्या भए शरीरमा घाउचोट कसरी लाग्थ्यो त ? भन्दै उनले प्रश्न गरिन् ।   

वीर गोर्खाली अभियान्ता सौरव भण्डारीले रविलाई पटक पटक फसाउन खोजिएको आरोप लगाउँदै पुडासैनीको केसमा लगेर जोडिएको स्पष्ट पारे । उनले भने, ‘२३ मिनेटको भिडियो भनिएको छ, तर आधा मात्रै सार्वजनिक गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली पनि मेरो हत्यारा हो भनिएको समाचारहरु आइरहेका छन् । केपीमाथि किन अनुसन्धान भएन ? केपीलाई कठघरामा उभ्याउनु पर्दैन ?’ 

उनले थपे, ‘हत्यारा हामीलाई थाहा छ । निर्मला प्रकरणदेखि जोडिएका श्रृंखलाबद्ध घटना हो यो । तीनीहरुले नै पुडासैनीको हत्या गरेर रविलाई फसाएका हुन् । भिडियो क्लिपबाटै पत्ता लगाउन सकिन्छ नि ! यदी रविलाई फसाइयो, रविको आवाज, ३ करोड नेपालीको आवाज रोक्न खोजियो भने हामी तेस्रो जनआन्दोलन गर्छौँ ।’   

ठुला नेपाली मिडिया सरकारी स्वामित्वमा भएका कारण उनीहरुले रविको समर्थन नगरेको उनीहरुको भनाइ छ । भोलिबाट तारबार नतोडि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्ने र यदी प्रहरीले हस्तक्षेप गरे प्रतिकार गर्ने पनि उनीहरुले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *