राप्रपा (प्रजातान्त्रिक)काे तीज कार्यक्रममा महिला अधिकारका कुरा (फोटोफिचर सहित)

काठमाडौँ, भाद्र २१ । यो वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सरकारलाई घच्घच्याउन विशेष प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको हुँदा निकै नै चर्चामा आएको छ । प्रतिनिधिसभा निर्वाचन पश्चात संगठन सुदृढिकरणमा ब्यापक जाेड दिएकाे राप्रपा प्रजातान्त्रिकले समयामयिक विषयसँगै राष्ट्रिय मुद्दाहरूमा समेत चर्काे वकालत गर्दै अाएकाेमा अाज हिन्दु महिलाहरूकाे महान चाड हरितालिका तिजकाे अवसरमा विशेष कार्यक्रम नै अायाेजना गर्याे ।

पार्टीकाे महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (प्रजातान्त्रिक)ले आज काठमाडौँमा विशेष खालको तीज कार्यक्रमको आयोजना गर्याे । कार्यक्रममा देशैंभरीका पार्टीका क्रियाशील महिलालाई सहभागी गराइ विशेष खालको तीज कार्यक्रमको आयोजना गरेकाे हाे ।

उक्त कार्यक्रममा सहभागी हुने पार्टीका नेताहरूले महिलाहरूकाे सांस्कृतिक, धार्मिक पर्व तिजले महिलाहरूलार्इ सामाजिक र सांस्कृतिक रूपमा अगाडी बढाउन ठूलाे सहयाेग पुर्याएकाे बताएका छन् । कार्यक्रममा बाेल्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले  तीजले धर्मप्रतिको आस्था र धर्मको सन्देशलाई तीज पर्वले जगर्ना गरेको बताउँदै पार्टीले महिलालार्इ पुरूष सरह अधिकार दिलाउन प्रभावकारी भूमिका खेल्ने बताए ।

उनले पछिल्लाे समय पार्टीले महिलालार्इ राजनीतिक रूपमा अगाडी ल्याउन संगठन विस्तारमा विशेष जाेड दिएकाे भन्दै महिलाहरू संगठित भएर राजनीतिमा अाउनुपर्ने बताए । उनले भने, ‘महिलालाई पुरुष सरह नै अगाडि ल्याउन हाम्रो पार्टी सधैं अग्रसर छ ।’ राप्रपा महिलावादी पार्टी भएकै कारण संगठनलाई बिस्तार गर्न खोजेको उनकाे तर्क थियाे । 

कार्यक्रममा बाेल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष तथा पूर्व मन्त्री दीपक बाेहराले हिन्दुधर्ममा तिजकाे विशेष महत्व रहेकाे भन्दै पछिल्लाे समय महिलाहरूले संगठित रूपमा चाडपर्व मनाउन थालेकाेले खुसी ब्यक्त गरे । उनले महिला अधिकारलार्इ संस्थागत गर्न र महिलामाथि हुने विभेदकाे अन्त्य गर्न पनि महिलाहरू संगठित हुनुपर्ने भन्दै पार्टीले महिला संगठनलार्इ विशेष रूपमा हेरेकाे बताए । ‘अझैपनि सामाजिक, आर्थिक रुपमा महिलाहरुमा ठूलो विभेद छ, त्यो विभेदको अन्त्य गर्न अब राजनीतिक रुपमा महिलाहरु संगठित हुन जरुरी छ ।’ उनले भने ।

बोहराले नयाँ संविधानले महिलाहरुलाई धेरै अधिकार दिएपनि कार्याान्वयन तहमा पुग्न नसकेको जिकिर गर्दै पुरुषहरुले पनि साथ र सहयोग दिनुपर्ने औल्याए । ‘हामी पुरुषहरुले पनि महिलालाई घरभित्र मात्र सिमित बनाउनु हुन्न उनीहरुमा रहेको योग्यता र क्षमतालाई प्रस्फुटन गर्ने अवसर दिनुपर्छ ।’ उनले भने । साथै बोहराले पार्टीले महिलाहरुलाई राजनीतिमा ल्याउन विशेष कदम चाल्ने समेत जिकिर गरे ।

सबै महिलालाई एकै ठाउँमा भेला पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पार्टीका उपाध्यक्ष अष्टमाया लामाले बताइन् । ‘वास्तवमा नै यस्ता खाले कार्यक्रमले सबै महिला दिदीबहिनीलाई एकै ठाउँमा भेला पार्ने अवसर जुराइदिएको छ ।’ लामाले भनिन् । सधैं घर व्यवहार मात्र नसम्हाली सिँगो देशलाई नै चलाउन सक्ने क्षमता महिलामा रहेको र राप्रपाले महिलालाई राजनीतिमा ठूलो अवसर दिएको उनले बताइन् ।

संगठनकी महासचिव कुमारी तामाङले नेपालमा बढ्दै गइरहेको बतात्कारको घटनामा सरकार गम्भीर हुन नसकेको आरोप लगाइन् । यस्ता घटनामा सरकार गम्भिर नभए आफ्नो संगठन सिँहदरवार घेराउ गर्न समेत पछि नपर्ने उनले जिकिर गरिन् । ‘महिला अधिकारका कुरा भाषणमा मात्र गरेर हुन्न, ब्यवहारमा लागू गर्न आवश्यक छ, दिनदिनै ७० वर्षको बृद्धा र ७ वर्षको बालिका बलात्कृत हुँदा जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिएर बसेको सरकार मुक दर्शक बस्नु लाजमर्दो कुरा हो’ उनले भनिन् ।

तामाङले  महिलामाथि हुने अत्याचारलाई न्यूनीकरण गर्न आफ्नो पार्टीले सधैं आवाज उठाइरहेको बताइन्। उनले आउँदै गरेको तीजको अवसरमा सबै महिलालाई शुभकामना समेत दिएकी  थिइन् । कार्यक्रममा महिलाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

पूर्वमन्त्री तथा महिला संगठनकी अध्यक्ष कमलादेवी शर्माको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उपाध्यक्ष अष्टमाया लामाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाको उपस्थिति ढिलो भएपछि बरिष्ठ उपाध्यक्ष दीपक बोहराले उद्घाटन गरेका थिए ।

पार्टीकी केन्द्रीय सदस्य तथा महिला कमिटि सदस्य दुर्गा खड्गीको आर्थिक संयोजकत्वमा गठित कमिटिको सदस्यहरुमा तारा शाह, शारदा शाह, इश्वरी लामा, घिउकुमारी आदी रहेका थिए । सो अवसरमा आर्थिक संयोजक दुर्गा खड्गीलाई तीज कार्यक्रम सम्पन्न गर्न विशेष भूमिका निर्वाह गरेको भन्दै पार्टी अध्यक्ष राणाले सम्मानित गरेका थिए ।

कार्यक्रममा महिलाको तर्फबाट संगठन सचिव मेनुका खाँडले मन्तब्य राखेकी थिइन् । संगठनकी उपाध्यक्ष तथा भक्तपुर जिल्ला अध्यक्ष धनेश्वरी प्रजापतिले स्वागत मन्तब्य राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *