रहस्यमयी हिममानव ‘यती’ साँच्चै छ त ?

 

बैशाख १९, काठमाडौं । भारतीय सेनाको एउटा पर्वतारोहण टोलीले नेपालको मकालु हिमाल क्षेत्रमा यतीको पाइला भेट्टाएको दाबी गरेपछि यतीको अस्तित्वको विषयमा बहस सुरु भएको छ । 

यती अर्थात् हिममानवको चर्चा फेरि एकपटक सामाजिक सञ्जालदेखि समाचारहरूमा छाएको छ । कतिपय समाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने यो प्रांक हो कि भन्ने पनि आशंका गरेका छन् । 

null

तर भारतीय सेनाको पर्वतारोही टोलीले ३२ इन्च लामो र १५ इन्च चौडा भएको पाइला भेट्टाएको दाबी गर्दै सोमबार आफ्नो ट्वीटर ह्यान्डिलमा यसका केही तस्बिर समेत राखेको छ । 

सेनाका अनुसार यो रहस्यमय पद चिह्न ९ अप्रिलमा सेनाले मकालु बेस क्याम्पको ५ हजार २ सय ५० मिटर उचाइमा भेट्टाएको हो । पहिले पनि नेपालको मकालु ब्रुन नेसनल पार्कमा यती रहेको दाबी गरिँदै आएको थियो । सो पाइला यतीको हुनसक्ने बताइएको छ । हिमालयमा यतीको विषयलाई लिएर विभिन्न दाबी गरिँदै आएको छ । यती मानिस र बाँदर जस्तो देखिने र सामान्य मानवभन्दा ठूलो हुने बताइँदै आइएको छ । 

 

भाजपाका नेताको विश्वास 

भारतका सत्तारूढ दल भाजपाका नेता तरुण बिजयले पनि आफ्नो देशको सेनामाथि गर्व रहेको बताउँदै यो दाबी सत्य भएको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘यतीलाई रहस्यमय नभनियोस्, ऊ हिममानव हो ।’ 

हिमालयलाई यतीको निवास मानिन्छ । यतीको उल्लेख पौराणिक कथाहरूमा गरिएको छ । तर, अहिलेसम्म यती कतै रहेको स्पष्ट प्रमाण भने भेटिएको छैन । 

यती काल्पनिक पात्र कि अस्तित्वमै छ ? 

हिमालको छेउछाउमा हिममानव यती देखिएको दाबी गरिएको यो पहिलो पटक भने होइन । पछिल्लो एक दशकमा यस्तो दाबी थुप्रैपटक गरिसकिएको छ । यतीसम्बन्धी किस्साहरू निकै पुराना छन् । कैयौँ सिनेमा, टेलिभिजन शृंखलाहरू तथा भिडियो गेममा पनि यतीको भूमिका राखिएको छ । त्यहाँ पौराणिक कथामा यतीलाई वर्णन गरिएअनुसार यतीको ग्राफिक्स बनाइएको हो । 

 

किंवदन्ती वा किस्साहरूमा यतीलाई विशाल, झ्यापुल्लो भुत्ला भएको जीव मानिएको छ, जुन मान्छे तथा विशाल शरीरयुक्त बाँदरसँग मिल्दोजुल्दो हुन्छ । यसका ठुल्ठूला खुट्टा हुनुका साथै डरलाग्दो दाँत हुने कल्पना गरिएको छ । यो पनि मानिन्छ कि, यती प्रायः हिउँले ढाकिएको स्थानमा एक्लै घुमिरहन्छ । 

यसलाई मान्छेको विकासक्रमको हिंस्रक समयको प्रतीक मानिन्छ । यतीबारे थुप्रै किंवदन्ती, भनाइ वा सबुतहरूको दाबी गरिए पनि के वास्तवमै यो जीव छ त ? या यो केवल कल्पना हो ? यो प्रश्न पनि जीवितै रहँदै आएको बेलामा यतीको पाइला फेलापरेको विषयले चर्चा पाएको छ । 

के यती र भालु एकै हुन् ? 

यतीलाई कयाैं नामबाट चिनिन्छ । भारतको हिमाञ्चल प्रदेशका मानिसहरू यतीलाई मेह र तेह भन्छन् भने तिब्बतमा यसलाई ‘मिचे’ भनिन्छ, जसको अर्थ मानिस जस्तै भालु हुन्छ । 

शोधकर्ताहरूले ‘यती’ लाई ध्रुवीय र भुरे भालुको क्रस ब्रिड अर्थात् हाइब्रिड नस्ल बताएका छन् । केही वैज्ञानिक यसलाई एक विशाल जीव मान्छन् जुन मानिस जस्तै दुई खुट्टाले हिँड्छ । 

सन् २०१७ मा वैज्ञानिकहरूले हिमान्चलबाट यतीको रौँ संकलन गरेका थिए, जसमा भालुको नमुना ठहरिएको बताइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *