नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सरकारको निर्देशन

काठमाडौँ, भदौ २४ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गलत नक्सा र निसान छाप प्रयोग नगर्न निर्देशन दिएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले त्रुटिपूर्ण ढंगले नेपालको नक्सा प्रयोग भएको पाइएपछि मन्त्रालयले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न निर्देशन दिएकी हुन् । आधिकारिक नक्सा स्थापित गर्न अनुगमन गर्ने उनको भनाइ छ ।

मन्त्रालयले नापी विभागले सार्वजनिक गरेको नेपालको आधिकारिक नक्सा प्रयोग गर्न पटक–पटक आग्रह गर्दै आएतापनि त्रुटिपूर्ण नेपालको नक्सा प्रयोगमा ल्याउने काम नरोकिएपछि मन्त्रालयले मन्त्रालयले यसलाई सच्याउन नेपालको आधिकारिक नक्साको चित्र छपाएर देशभर वितरण गर्ने अभियान सञ्चालन गर्ने भएको हो ।

त्रुटिपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।

अब पनि नेपालको नक्सा त्रुटिपूर्ण ढंगले प्रयोग गरेको पाइएमा कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

आधिकारिक नक्सा स्थापित गर्न अनुगमन नै गरेर जाने भन्दै उनले नापि विभागले सकेसम्म निःशुल्क र नसके कम शुल्कमा आधिकारिक नक्सा उपलब्ध गराउने उनले जानकारी दिइन् । सबैभन्दा पहिले सरकारी कार्यालय र शैक्षिक संस्थाबाट त्रुटिपूर्ण नक्सा विस्थापित गर्ने योजना मन्त्रालयको छ ।

मिडियाहरुमा कालापानी लगायतका ठाउँलाई उल्लंघन हुनेगरी नक्सा प्रयोग भएकोप्रति नापी विभागले ध्यानाकर्षण भएको जनाएको छ । गत वर्ष गोरखापत्रले नै तीन पटक गलत नक्सा छापेको पाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *