खड्ग बहादुर विश्वकर्मालाई काठमाडौं ल्यार्इंदै
“
भाद्र २७, दाङ । चन्दा आतंक र विध्वङ्सात्मक कृयाकलापमा संलग्न भएको भन्दै पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई फेरि काठमाडौं लगिने भएको छ ।
विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धीे रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अन्तरिम आदेश जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्माले विश्वकर्मालाई काठमाडौं पठाउने तयारी भएको बताए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हुँदा विश्वकर्मालाई काठमाडौं पठाउने तयारी हो । ‘सर्वोच्चको आदेश अनुसार उहाँलाई काठमाडौं लैजाने तयारी गर्दैछौं ।’ एसपी शर्माले भने । शर्माका अनुसार दाङ प्रहरीलाई विश्वकर्मालाई सर्वोच्चमा उपस्थित गराउन तीन दिनपछि सम्मको सुविधा छ । तथापि, प्रहरीले आजै विश्वकर्मालाई काठमाडौं हिँडाउने तयारी गरेको छ ।
गत साउन २२ गते पार्टीका विप्लव पछिका प्रभावशाली नेता विश्वकर्मालाई सात करोड चन्दा उठाएको अभियोगमा काठमाडौंमै पक्राउ गरिएको थियो । त्यसपछि उनलाई बम बिस्फोट, आगजनी र कर्तव्य ज्यान मुद्दा लगाउँदै देशका विभन्न जिल्लाहरूमा घुमाउँदै आइएको छ । उनलाई पछिल्लो समय जिल्ला अदालत भोजपुरले भदौ २१ रिहा गरेलगत्तै प्रहरीले कर्तव्य ज्यान मुद्दामा दाङ ल्याएको थियो ।
गत मंसिर १२ गते तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभानजिकै बम बिस्फोट हुँदा सुरक्षार्थ खटिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो । सो घटनामा उनको संलग्नता रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
विश्वकर्मालाई पक्राउ परेको एक महिनापछि भदौ २३ गते जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको थियो । जिल्ला अदालतले प्रकाण्डविरूद्धको मुद्दामा आइतबार आठ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
“