मुसहर समुदाय च्याउखेतीतर्फ आकर्षित

महोत्तरी, १२ साउन । धुुर्मुस–सुन्तली फाउन्डेसनले बर्दिवासमा रु चार करोडको लागतमा निर्माण गरेको एकीकृत नमूना मुसहरबस्तीका मुसहर च्याउखेतीतर्फ आकर्षित भएका छन् । विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) बाट च्याउखेतीको तालीम पाएपछि सो मुसहर समुदाय मजदुरी गर्न छाडेर च्याउखेतीतर्फ लागेको हो । थोरै जग्गा र कम समयमै बढी उत्पादन हुने भएपछि च्याउखेती गर्न थालेको स्थानीय मानकी सदाले बताउनुभयो ।

वर्षौंदेखि विभिन्न समस्याले पिल्सिएका यहाँका बासिन्दाको दिनचर्या धुुर्मुस–सुन्तली फाउन्डेसन एवं नाष्टको सहयोगका कारण परिवर्तन भएको हो । नाष्टको सहयोगले कोही बाँसको मुढा बनाउने तथा केहीले च्याउखेती गर्न थालेका छन् ।धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्माण एकीकृत नमूना मुसहरबस्तीलाई नाष्टले नमूना वैज्ञानिक गाउँ बनाउन आयआर्जनका लागि सीपमूलक शिक्षा प्रदान गर्दै आएको छ । सो फाउण्डेसनले सबैलाई पाँचकोठे पक्की घर बनाइदिएको छ भने नाष्टले सीप सिकाएर ठूलो गुन लगाएको स्थानीयवासी विल्टु सदा बताउनुहुन्छ ।


दुई छोरा र दुई छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेका आशादेवीले १० धुर जग्गा भाडामा लिई च्याउखेती गर्न थाल्नुभएको हो । “पहिले दिनभरि परिश्रम गरेर कमाएको रकमले साँझमा नुन तेल किन्दैमा ठिक्क हुन्थ्यो । अहिले आर्थिक अवस्थामा सुधार आएको छ,” उहाँले भन्नुभयो । नाष्टले मुसहर बस्ती च्याउखेती गर्नका लागि तालीम, प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *