डा. शर्माले दिएको राहत गाउँपालिकाले अस्वीकार गरेको भन्दै कांग्रेसको आपत्ति
मोरङ, २९ चैत । डा. सुनिल शर्माले दिएको राहत रकम गाउँपालिकाले अस्वीकार गरेको भन्दै काँग्रसले आपत्ति जनाएको छ । कोरोना भाइरस रोकथाम तथा उपचारका लागि नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले प्रदान गर्न लागेको राहतस्वरुपको रकम कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले अस्वीकार गरेको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएका हो ।
कानेपोखरी सभापति योगेन्द्र दाहालले एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीका बेला दिन लागेको राहत अस्वीकार गर्नु अक्षम्य घटना भएको बताएका छन् । ‘मोरङको ३ नं.क्षेत्रका चार वटै पालिकालाई सामुहिक रुपमा राहत प्रदान गर्ने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नआएको भन्दै अध्यक्ष काफ्ले नजानुलाई अक्षम्य घटना हो’ काँग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘कानेपोखरी गाउँपालिकाले सबैलाई राहतका लागि सहयोगको आह्वान गर्दा हालसम्म खातामा ५० हजार जति पनि जम्मा भएको छैन । यस्तो अवस्थामा डा.सुनिल शर्माले ५ लाख दिने कार्यक्रममा बेलबारी बोलाउँदा आधिकारीक सूचना नभएको भन्दै राहत अस्वीकार गरेको घटनाले काँग्रेसलाई आश्चर्यचकित बनाएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्य गाउँपालिकाले राहत स्वीकार गर्नु तर कानेपोखरी गाउँपालिकाले अस्वीकार गर्नु अक्ष्यम्य घटना भएको कांग्रसको ठहर छ । विज्ञप्तिमा भनिएको छ ‘यहि क्षेत्रका सुन्दरहरैंचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाले बैंक खाता हुँदा हुँदै पनि प्रमुखहरु आफै सहभागि भएर राहत रकमको चेक लिनु तर, कानेपोखरी गाउँपालिकाले अस्वीकार गर्नुलाई हामीले अक्षम्य घटनाको रुपमा लिएका छौं ।’
यता, आवश्यकताको आधारमा राहत वितरण गर्न सर्वदलीय राहत वितरण समिति गठन भएतापनि एकलौटी रुपमा नेकपाले संकलन गरेको नामावलीका आधारमा राहत वितरण भईरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसले सात वटै वडामा न्यायोचित हिसावले राहत बाढ्न माग पनि गरेको छ । त्यस्तै कानेपोखरी १ नं.वडामा गाउँपालिका उपाध्यक्षले एकद्धार नीति उल्लंघन गर्दै मानोमानी रुपमा नेकपाको तर्फबाट राहत बाढेको भन्दै कांग्रेसले भत्र्सना गरेको छ ।
राहत वितरणमा नेकपाको चरम राजनीति र कांग्रेस प्रतिनिधिसभा उम्मेद्वार डा.शर्माले दिन लागेको राहत अस्वीकार तथा वितरण न्यायोचित नभएको भन्दै अब कानेपोखरी कांग्रेसले एकद्वार नीति उल्लंघन गर्ने विज्ञप्तिमार्फत चेतावनीसमेत दिएको छ ।
कानेपोखरी बाहेक ३ नम्बर क्षेत्रका तीन नगरपालिकामा भने एकद्वार नीतिमार्फत नै राहत वितरण हुने कांग्रेसले जनाएको छ ।