मालिका गाउँपालिकाद्वारा घरदैलोमै भत्ता वितरण

म्याग्दी, १३ साउन । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक, दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया शुरु गरिएको हो ।

बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टंक पुन लगायतको उपस्थितिमा निस्कोटका ७१ जना वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ ।

गाउँमै भत्ता पाउने भएपछि लाभग्राहीलाई गाउँपालिकाको केन्द्र दरबाङ झर्नुपर्ने बाध्यता हटेको छ । गाउँमै भत्ता पाउँदा उनीहरु खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने गाउँपालिकाको निर्णयबमोजिम निस्कोटबाट उक्त कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

अध्यक्ष रोकाले सबै वडामा घरदैलोमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरिने बताउनुभयो । उहाँले निस्कोटका साथै रुम, देविस्थान, ओखरबोट, विम लगायतका स्थानमा पनि छिट्टै वितरणको तयारी भएको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमार्फत रोका गाउँपालिकाको प्रमुखमा चुनिएपछि सामाजिक सुरक्षाभत्तालाई घरदैलोमै वितरण गर्ने पहिलो निर्णय गर्नुभएको थियो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा वित्तीय सङ्घसंस्थाका पहुँच भएपनि ग्रामिण भेगबाट भत्ता लिन आउँदा खासगरी वृद्धवृद्धालाई बढी समस्या भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *