चलचित्र ‘घरजम’ धरानमा प्रदर्शन हुँदै
कात्तिक ७, धरान । नेपाली मौलीक कथानक चलचित्र ‘घरजम’ देशका बिभिन्न शहरहरुमा प्रदर्शन हुँदै सुनसरीको धरान आइपुगेको छ । चलचित्रका टीमले पत्रकार सम्मेलन गरी ‘घरजम’ को विशेष प्रर्दशन हुने जानकारी दिएको छ ।
मौसम ईम्बुङद्धारा निर्देशित ‘घरजम’ कात्तिक ५ गते झापाको विर्तामोड स्थित कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन भईसकेको छ भने सुनसरीको धरानमा यहि कात्तिक ९ गते प्रदर्शन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक मौसम इम्बुङले ‘घरजम’ लिम्बू समुदायको जीवन–दर्शनलाई आधार मानेर निर्माण गरिएको चलचित्र भएको बताए ।
उनले ‘घरजम’ क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले बनेको चलचित्र भएको दावि गरे । ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने अभियानमा ‘घरजम’ले एउटा इट्टा थप्ने काम गर्नेछ ।’ उनले भने । चलचित्रका निर्माता तथा कलाकार सीता कुमारी तुम्बापोले नयाँ सन्ततीलाई आफनो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम रहेकोले चलचित्र निर्माण गरिएको बताइन् ।
‘घरजम’ व्यवसायीक रुपमा समेत नेपाली चलचित्र उद्योगमा प्रतिस्पर्धी चलचित्र हो । ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर र विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्रर्दशन हुनेछ । चलचित्रलाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वटा स्थानीय तहमा प्रदर्शन गरीने छ ।
करिब ८० लाखको लगानीमा बनेको चलचित्रको निर्माता किशोर कुमार लिम्बु र सीता कुमारी तुम्वापो हुन भने सह निर्माता तेज मेन्याङबो छन् । चलचित्रमा मुख्य भुमिकामा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायतका कलाकारहरुको अभिनय छ ।