रोल्पाका १७ वर्षीय शनि विश्वकर्मा बने पहिलो ‘नेपाल लोक स्टार’

कार्तिक ८, काठमाडौं । रोल्पाका १७ वर्षीय शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को पहिलो विजेता बन्न सफल भएका छन् ।   

लोक स्टारको फाइनल राउण्डका तीन प्रतिस्पर्धीलाई पछि पार्दै शनि विजेता बनेका हुन् । उनले नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार प्राप्त गरेका छन् ।   

त्यस्तै स्याङ्जाका चेतन गोतामे दोस्रो बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् भने तेस्रो उपाधि जितेका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् । 

यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् । 

गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । 

नेपाल लोक स्टारमा निर्णायकको भूमिकामा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *