छिमेकीले जग्गा कुम्ल्याएपछि कुष्ठरोगी दम्पत्तिको विजोक

काठमाडौं, १७ कात्तिक । चितवन खैरेनी नगरपालिका वडा नम्बर १३ का स्थायी वासिन्दा कुष्ठरोगी दम्पत्ति शिव बहादुर सापकोटा र सबिना माझी सापकोटाले आफूहरुको एक बिघा जग्गा जालसाँझी गरेर छिमेकीले नै आफ्नो नाममा पारेको भन्दै न्यायको याचना गरेका छन् ।   

छिमेकीसमेत रहेका गणेशकुमार श्रेष्ठले उनीहरुको जग्गा जालसाँझी गरेर आफ्नी बहिनीको नाममा (फिल्डबुक) मा दर्ता गराएको सापकोटा दम्पत्तिको आरोप छ । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सापकोटा दम्पत्तिले यस्तो याचना गरेका हुन् । 

उनीहरुका अनुसार श्रेष्ठले आफ्नी बहिनी तिलमाया श्रेष्ठको नाममा सापकोटा दम्पत्तिको जग्गा फिल्डबुकमा दर्ता गराएका थिए । आफूहरु घरमा नभएको मौका छोपेर श्रेष्ठले जालसाँझी गरेको भन्दै न्याय माग्न स्थानीय निकायमा धाउँदासमेत जनप्रतिनिधिहरुले कुनै सुनुवाई नगरेको पीडित शिव बहादुर सापकोटाको गुनासो छ ।   

‘हामी घरमा कोहीपनि नभएको मौका छोपेर गणेश श्रेष्ठले यस्तो गर्यो । उसले २०६३ सालमै यस्तो किर्ते काम गरेको रहेछ, तर हामीले २०७४ सालमा मात्रै थाहा पायौं ।’ पिडित शिव बहादु सापकोटाले भने–‘थाहा पाउनेबित्तिकै सम्बन्धित निकायमा पुगेर जानकारी गराउँदा पनि वडाअध्यक्षले कुनै सुनुवाई नगरी उल्टै हप्की र दप्की गरे ।’ 

बैशाखी टेकेर पत्रकार सम्मेलनमा उपस्थित् भएका सापकोटाले रुँदै भने,‘दोषीलाई कारबाही गर्नुपर्छ । दिनदहाडै यस्तो गलत र गैरकानूनी काम गर्नेलाई कुनैपनि हालतमा छुट दिनुहुँदैन् । फिल्डबुकमा तिलमायाको नाम हटाएर मेरो परिवारको नाम राख्नुपर्छ ।’ 

एक बिघा ९ कठ्ठा जग्गा रहेकोमा अहिले ९ कठ्ठाको मात्रै जग्गाधनी पुर्जा आफूसँग रहेको उनले सुनाए । ‘एक बिघा जग्गा चाहीँ श्रेष्ठले जालसाँझी गरेर विवाह गरेर दिएकी बहिनी तिलमायाको नाममा फिल्डबुकमा चढाएको छ ।’–उनले भने ।   

आफू बाल्यकालदेखि कुष्ठरोगी भएकोले अस्पताल धाउनुपर्ने बाध्यता रहेको सापकोटाको भनाई छ । ‘म त विरामी हुँ, त्यही भएर धेरैजसो समय घर बाहिर भएँ । श्रेष्ठले जग्गा बहिनीको नाममा फिल्डबुकमा चढाउँदा हामी ललितपुरको टिकाभैरवको कुष्ठरोग अस्पतालमा थियौं ।’–सापकोटाले सुनाए ।   

सापकोटा दम्पत्ति बैशाखी टेकेर भएपनि आफूहरुको जग्गा अर्को व्यक्तिले जालसाँझी गरेर खान खोजेकोले न्याय माग्न निवेदन बोकेर वडा कार्यालय धेरैपटक धाए । तर, जग्गाको पूर्जा निकाल्न अनुरोध गर्दा न्याय दिनुको साटो वडाअध्यक्ष बालकुमार उप्रेतीले धम्की दिने गरेको उनीहरुको गुनासो छ ।   

उनले भने,‘वडाअध्यक्ष उप्रेती जालसाँझी गर्ने श्रेष्ठसँग मिलेका छन् । मेरो जग्गा यसरी मिलेमतोमा खान खोजियो । वडाअध्यक्षले तँ बढी न हो, तेरो गालामा पड्काईदिन्छु भनेर धम्क्याउँने काम गरे  ।’ उनीहरु वडाले न्याय नदिएपछि खैरेनी नगरपालिका पुगेर मेयर लालमणि चौधरीलाई भेटे । मेयरसँग अनुनय–विनय गर्दापनि उनले न्यायको लागि कुनै ठोस कदम नचालेको र उल्टै वडा कार्यालयमा पठाएको सापकोटा दम्पत्तिको गुनासो छ ।   

उनीहरु दशैंलगत्तै आफूहरुले असुरक्षित महशुस गरेर घर छोडेर ज्यान बचाउनका लागि पर्सा वीरगन्जमा रहेको दिदी–भिनाजुको घरमा आश्रय लिएर बसेका छन् । सापकोटा दम्पत्तिको एक सन्तान छोरा गणेश सापकोटा हाल काठमाडौं फर्पिङमा कुष्ठरोग निवारणले सञ्चालन गरेको स्कुलमा अध्ययनरत छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *