कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

चैत्र १०, काठमाडौं। निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ। कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो। 

जर्मनीका तीन नागरिक कोरिन्ना भास (Corinna Vash), डेनियल हान्के (Daniel Hanke) र मिचि मुन्वर्ग (Michi Munzberg) को सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरेका हुन्। सो घर निर्माण गर्न करिब ६ लाख रुपियाँ लागेको छ। भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् भने मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन्। सुकमानले रुपेशको निम्न आर्थिक स्थितिबारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए। मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन्। 

१८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन्। एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए। गत फागुन अन्तिम साता बुढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तर विद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए। फुटबलमा पनि रुचि राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन्। 

यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्‍याउन सक्थ्यो। सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन्। सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन्। विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासन पानीको पनि व्यवस्था गर्दै आएका छन्। रुपेश हाल बुढानीलकण्ठस्थित श्री बुढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन्। उनी एसइई परीक्षा दिने तयारीमा छन्। एसइई परीक्षा हाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित छ। रुपेशको सम्पूर्ण शैक्षिक खर्च पनि सुकमानले नै जोहो गर्दै आएका छन्। सुकमानले रुपेशका लागि यी व्यवस्थामा पनि मुन्वर्ग र भासको साथ रहेको बताउँछन्। यी दुवै जर्मनी नागरिक र सुकमानले मिलेर अन्य १४ जनाको पनि शैक्षिक खर्च व्यहोर्दै आएका छन्। त्यसमध्ये हाल ९ जना बाल विकास तथा ४ जना श्री बुढानीलकण्ठमा अध्ययनरत छन्। 

एक महिनाको छँदा नै रुपेशलाई आमाले छोडेर गएकी थिइन्। त्यसपछि उनको लालन पालन ७६ वर्षीय हजुरबा केशरबहादुर खतिवडा र ६५ वर्षीय हजुरआमा जानुकाले गर्दै आएका छन्। अत्यन्तै कमजोर आर्थिक स्थितिका रुपेशका हजुरबा र हजुरआमाको मुख्य पेसा गाइपालन हो। गाइपालनबाट उनीहरू दैनिक ५–६ माना दूध विक्री गर्छन्। सो आम्दानीबाट गुजारा चलाउन हम्मे हम्मे नै थियो। स्कूलको शुल्क तिर्न पनि रुपेशको परिवारलाई कठिन भइरहेको थियो। आफ्नै (सुकमान) प्रशिक्षणमा हुर्किरहेका चेलाको यस्तो अवस्थाको ज्ञात भएपछि सुकमानले सकेसम्मको सहयोग गर्ने अठोट गरेका  हुन्। 

बुढानीलकण्ठस्थित वडा ३ मा रहेको रुपेशकै परिवारको ३ आना जग्गामा सुकमानले नयाँ घर निर्माण गरिदिएका छन्। सोही जग्गामा जीर्ण अवस्थाको पुरानो घर अहिले पनि छ। यद्यपि २०७२ को भूकम्पपछि सो पुरानो घरमा बस्न मिल्ने स्थिति छैन। सुकमानले पुरानो घरलाई जीर्णोद्धार गरिदिनुका साथै शौचालय र किचन पनि चाँडै बनाइ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। सुकमानका अनुसार नयाँ घर तला थप्न मिल्ने गरी बनाइएकोले माथिल्लो तलामा थप दुई कोठा बनाइदिने पहल पनि भइरहेको छ। 

सुकमानले घरको साँचो हस्तान्तरण गर्नुअघि रुपेशका हजुरबा र हजुरआमालाई खादा लगाइ दिए। त्यसपछि साँचो हस्तान्तरण गर्दै भने– ‘मेरो चेलाका लागि सकेसम्मको सहयोग गर्न पाएकोमा म खुसी छु। अब यो घर तपाईंहरुको हो। धेरै चिन्ता गर्नु पर्दैन। नाति (रुपेश) पनि हुर्किसकेको छ। खाई नखाई नातिका लागि धेरै गर्नुभयो अब तपाईंहरुलाई नातिले हेर्ने दिन आउँदै छ।’ 

सुकमानको सो गुणपछि रुपेशकी हजुरआमाले आँसु थाम्न सकिनन्। रुपेशकी हजुरआमाले आँसु झार्दै भनिन्– ‘उहाँ सर (सुकमान) ले रुपेशका लागि त धेरै गर्नुभएको छ। नातिको खेल, शिक्षालगायतमा सरको ठूलो योगदान छ। पुरानो घर कति खेर भत्किने हो भनेर सधैँ चिन्ता भइरहन्थ्यो। नयाँ घर बनाइ दिएर हामीलाई ढुक्कसँग बस्ने वातावरण बनाइ दिनुभयो। उहाँलाई धन्यवाद। उहाँ त हाम्राका लागि भगवान् सरह नै हो।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *