लोपोन्मुख जाति कुसुण्डाका बालबालिकालाई सहयोग घोषणा

 

बैशाख २३, दमौली । अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । 

नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका– १० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान घोषणा गरेको हो । 

null

आइतबार दमौलीमा साभ नेपालका अध्यक्ष तुलसी प्रवासले सीमान्त कुसुण्डा सहयोग अभियानको औपचारिक रूपमा घोषणा गरे । नेपालकै अति लोपोन्मुख जातिको रूपमा रहेका राजामामा कुसुण्डाको गत वर्ष निधन भएको थियो । 

कुसुण्डा परिवारको आर्थिक अवस्था ज्यादै दयनीय रहेकाले सीमान्तको शिक्षा र स्वास्थ्यका लागि सहयोग अभियान शुरु गरिएको उनले सो अवसरमा जानकारी दिए । अभियानअन्तर्गत पहिलो सहयोग साभ नेपालले नै गरेको छ । 

साभ नेपालको तर्फबाट सहयोग अभियानमा रु १० हजार सहयोग गर्ने प्रवासले प्रतिबद्धता जनाएका थिए । उनका अनुसार अभियानका लागि देश तथा विदेशबाट समेत सहयोगको प्रतिबद्धता आएको छ । सीमान्तलाई कक्षा १२ सम्म पढाउने र उनको स्वास्थ्य उपचार खर्च सबै ब्यहोर्ने उद्देश्यले सहयोग अभियान घोषणा गरिएको हो । 

उनका अनुसार अभियानबाट सङ्कलित रकमले कोष बनाइनेछ । उक्त कोषबाट प्राप्त रकमले सीमान्तको शिक्षा र स्वास्थ्य उपचारमा खर्च गरिनेछ । उनले भने, ‘सिधै हातमा पैसा दिनेभन्दा पनि स्वास्थ्य र शिक्षामा लगानी गर्ने उद्देश्य हो । साथै चाडपर्वको समयमा चाडपर्व मनाउन समेत केही पैसा दिने योजना बनाएका छौँ ।’ 

उनले अभियानबाट सङ्कलित रकमलाई पारदर्शी बनाउने समेत प्रतिबद्धता जनाए । सीमान्त व्यास नगरपालिका–१० डिहीगाउँस्थित शतिस बोर्डिङ स्कूलमा अध्ययनरत छिन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *