नयाँ शक्तिको केन्द्रीय समिति भंग, महाधिवेशन कमिटी गठन, ‘फोरमसँग एकता अन्त्य’

काठमाडौं, साउन १३ । नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा। बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषदको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा। भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।

बढीमा १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रहने सदस्यको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई दिएको छ ।

बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको छ ।

पारित प्रस्तावमा चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुबै देशलाई आह्वान गरिएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक संसद अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरुबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

एनसेल लाभकरण प्रकरण, कर फर्छ्यौट आयोगका निर्णयलगायतका विरुद्ध भ्रष्टचारविरोधी नागरिक सचेतना आन्दोलनका लागि बैठकले आह्वान गरेको छ ।

फोरमसँग एकता अन्त्य भयो
पत्रकार सम्मेलनमा डा। भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताए ।

उनले नेकपा माओवादी केन्द्रसँग पनि एकताको कुनै सम्भावना नरहेको स्पस्ट पारे ।

एकताबारेको प्रश्नमा उनले भने–‘प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।’

डा। भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *