‘गाई हत्याबारे अनुसन्धान भैरहेको छ, दोषीलाई कारबाही गर्छौं’

भाद्र १५, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हासिल गर्ने कुरामा र प्रशासनिक काममा इतिहासमै फड्को मारेको दाबी गरेका छन् ।   

आइतबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले ७ प्रतिशतको वृद्धिद्धर हासिल गरेर इतिहासमा फड्को मारेको सुनाए । त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । ‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’ उनले भने । 

मन्त्री पण्डितले वर्तमान सरकार संविधानअनुसार ऐन, कानून बनाउँदै सफल संघीय लोकतान्त्रिक दिशामा संघ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध स्थापित गर्दै अघि बढिरहेको सुनाए । ‘हामी आईपरेका समस्याहरु समाधान गर्दै अघि बढिरहेका छौं । नयाँ परिवर्तन तुरुन्तका–तुरुन्त सबै कुरा एकैचोटी हुँदैन ।  यसको लागि समय लाग्छ । एकै दिनमा, एकै रातमा सबै कुरा व्यवस्थित हुँदैन ।’ 

आयोजित साक्षात्कारमा उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए । ‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानून बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’ उनकाअनुसार कतिपय कानून संघीय संसदमा पुगेको, कतिपय छलफलको क्रममा रहेको र कतिपय कानूनहरु मस्यौदाको प्रक्रियामा रहेका छन् । 

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकोले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको इतिहास नभएको जिकिर गरे । यद्यपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’ 

उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ताअनुसार हुँदै जाने बताए । ‘आवश्यकत्तालाई ध्यानमा राखेर हामी अघि बढ्छौं ।’ स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलिसकिएको र अब संघ र प्रदेशको लागि विज्ञापन खोल्ने प्रक्रियामा रहेको पनि उनले सुनाए । उनले मानव संशाधनको व्यवस्थापन गर्नेतर्फ पनि सरकार सचेत रहेको सुनाए ।   

उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने,‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’ उनले अब प्रदेश र स्थानीय तहमा पनि विकास निर्माणका कामले गति लिने विश्वास दिलाए । 

उनले भने,‘अहिले कहीँ कतैबाट पनि अवरोध र रुकावट छैन् । तीनै तह मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार गर्नेगरि तीनवटै सरकार मिलेर अघि बढ्ने उनको विश्वास छ ।   

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रिय रुपमा काम गरेको जिकिर गर्दै भने,‘अख्तियारको थुनुवा कोठा अहिले सबै भरिभराउ छन् । सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको छ । दोषी जो भएपनि सरकार कारबाही गर्न पछि हट्दैन् ।’   

उनले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने,‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन् । हामी छलफलकै क्रममा छौं ।’ उनले लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुसार आएकोले यसबारेमा अफवाह फैलाउन नहुने जिकिर गरे । उनले भने,‘आरक्षण र समावेशीको कुरा हटाएका छैनौं ।’ 

फरक प्रसँगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए । उनले भने,‘यो प्रकरणमा कोही कसैले अपराध गरेको प्रमाणित भए सरकारले कारबाही गर्छ । दण्डित गर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *