‘अदातलमा विचौलियाको प्रवेश, स्वास्थ्य शिक्षा फेरि अस्तव्यस्त’

 

जेठ ५, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका प्राध्यापक डा. गोविन्द केसीले मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम सुरु भएको भन्दै आक्रोश पोखेका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विचौलिया तथा दलीय चाटुकारीका कारण बदनामी कमाएका व्यक्तिहरुलाई न्यायालय प्रवेश गराइएपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि शुरु भएको भन्दै आक्रोश पोखेका हुन् । 

null

‘केही दिन अगाडि गत स्थापित नियम विपरीत ‘प्रवेश परीक्षा विना नै भर्ना हुन पाउँ’ भन्ने एक निजी मेडिकल कलेजको कथित विद्यार्थीको निवेदनमा अन्तरिम आदेश जारी गरिएको छ । जबकी गत पुसमा सर्वोच्च अदालतले नै त्यस्तो अन्तरिम आदेश जारी गर्न अस्वीकृत गरेको थियो ।’, डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता निर्णयले वर्षौंको संघर्षपछि योग्य विद्यार्थीलाई मात्रै मेडिकल शिक्षाका लागि भर्ना गर्ने थिति भताभुंग पार्ने मात्रै हैन, शैक्षिक र आर्थिक अपराध गर्ने मेडिकल माफियाहरुलाई जतिसुकै नियम–कानुन मिचे पनि सर्वोच्च न्यायालयका खास मानिसहरुसम्म पुग्न सके उन्मुक्ति पाइन्छ भन्ने आत्मविश्वास समेत दिन्छ ।’ 

यस्ता क्रियाकलापले काउन्सिल र विश्वविद्यालयलगायत नियामक निकायहरुले जति प्रयास गरे पनि सुधारको प्रक्रिया अवरुद्ध हुने, मेडिकल शिक्षाको गुणस्तर घटिरने र अयोग्य स्वास्थ्य जनशक्ति निर्माण मार्फत् आगामी धेरै दशकसम्म सेवाग्राही नागरिकहरुको स्वास्थ्य र जीवन खतरामा परिरहने विज्ञप्तिमा उल्लेख छ । 

यस्तै उनले पेशागत सुधार र न्यायको माग गर्दै अनशनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको बिग्रँदो स्वास्थ्य अवस्था र सरकारले उनीहरुप्रति देखाएको चरम असंवेदनशीलताप्रति पनि आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *