उद्योग वाणिज्य संघको टोलीलाई रुद्राक्षको माला
बैशाख १२, चितवन । अध्ययन अवलोकन भ्रमणमा आएको जितपुर सिमरा उद्योग वाणिज्य संघको टोलीलाई चितवनको रत्ननगर उद्योग वाणिज्य संघले बिहीबार स्वागत गरेको छ ।
नेपाली उत्पादनलाई प्राथमिकता दिँदै रत्ननगर उद्योग वाणिज्य संघले जितपुरको टोलीलाई रुद्राक्षको माला लगाएर स्वागत गरेको हो ।
null
‘औपचारीक कार्यक्रममा खादा लगाउने चलनलाई विस्तारै तोड्दै छौँ’ रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले भने, ‘यहीकै व्यापार प्रर्वद्धन गर्ने गरी रुद्राक्षको मालाले पाहुनाहरुलाई स्वागत गरिरहेका छौँ ।’
भगनि सम्बन्ध स्थापित गर्ने उद्देश्यले रत्ननगर उद्योग वाणिज्य संघले देशका विभिन्न उद्योग वाणिज्य संघहरुलाई रत्ननगर अध्ययन अवलोकनको वातावरण बनाउँदै आएको छ ।
संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष सन्जय साहले भ्रमणको उद्देश्य र संघका क्रियाकलापहरुका बारे जानकारी गराएका थिए ।
कार्यक्रममा संघका गतिविधिहरु, संघद्धारा संचालन गरिएका परियोजना, मेलामहोत्सव, आयआर्जन, दुई संघबीच व्यवसायी प्रवद्र्धन गर्न सहकार्य गर्नुपर्ने, खुल्ला सिमानाबाट आउने सामानहरुको नियन्त्रण, एकताबद्ध भई व्यवसाय प्रवद्र्धनका कार्यहरुमा ध्यान केन्द्रित हुनपर्नेमा जोड दिइएको थियो ।
संघका निर्वतमान अध्यक्षएवं प्रदेश नं.३ उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानबहादुर विसुराल लगायत पदाधिकारी, कार्यसमिति सदस्यको उपस्थिति रहेको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद ज्ञापन सँगै कार्यक्रमको संचालन संघका महासचिव निराजन खनालले गरेका थिए ।