विदेशबाट फर्किएर सामूहिक फूलखेती

कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गरेका छन्  । 

उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गरेका हुन्  । पहिलो चरणमा छ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताए । “विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियौ, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौँ,” उनले भने ।   

वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालीम लिएपछि काम गर्ने हौसला मिलेको उहाँको भनाइ छ । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताए ।   

नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट वर्षेनी फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठले जानकारी दिए । “नगरपालिकामा बाहिरबाट फूल ल्याउन नपरोस् भनेर फूलखेती गरेका हौँ,” उनले भने , “विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा खेती गर्ने लक्ष्य राखेका छौं ।” 

सामूहिक फूलखेतीमा लाग्नुभएका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताए । युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उनको भनाइ छ । 

पहिलो चरणमा तिहारलाई लक्षित गरी रु एक लाखको लगानीमा फूलखेती शुरु गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उहाँले जानकारी दिए। चितवनबाट रु ६० हजारमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ । “अर्को वर्षदेखि आफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं,” उनले भने । 

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग रहने बताए । “फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने वर्षेनी ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ,” रेग्मीले भने  । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *