मिस इन्डिया फाइनलमा पुगेका सबै युवती एकै प्रकारका किन ?
जेठ १९ । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको करियर मिस इन्डिया प्रतियोगिताबाटै सुरु भएको थियो ।
यस पटक प्रतियोगिताको फाइनलमा पुगेका युवतीले चौडा मुस्कान सहित आफ्नो प्रचार तस्बिर खिचाउनु कुनै नौलो कुरा होइन ।
null
अन्ततः यो जीवनै परिवर्तन गरिदिने प्रतियोगिता जो हो ।
तर यी युवतीको एक सामूहिक तस्बिरले अब विवाद नै खडा गरिदिएको छ । आलोचकले प्रतियोगिताका आयोजकले छालाको रङलाई प्राथमिकता दिइरहेको आरोप लगाइरहेका छन् ।
‘द टाइम्स अफ इन्डिया’ पत्रिकामा प्रकाशित कोलाजमा ३० सुन्दर युवती उभिएका छन् । यो पत्रिका आयोजक समूहकै हो ।
तर जब एक ट्वीटर प्रयोगकर्ताले यो कोलाज पोष्ट गर्दै प्रश्न सोधे, ‘यो तस्बिरमा के गलत छ ?’ तब यो तस्बिरमा धेरैले ध्यान खिच्न सुरु गर्यो ।
काँधमा खसिरहेको चम्किलो कपाल, सबैजना गोरा देखिन्छन् । कतिले सबै एकै प्रकारका देखिने बताए ।
केहीले ठट्टा गर्दै यो एउटै व्यक्तिको भिन्न–भिन्न तस्बिर हो समेत भन्न भ्याए ।
आलोचकको तर्क यो छ कि यो तस्बिरमा केही गलत नभएपनि सबै गोरो भएकाले भारतीयले गोरो छालालाई राम्रो ठान्ने कुरालाई चित्रित गर्छ ।
प्रतियोगिताकी ग्रुमिङ एक्सपर्ट शमिता सिंहले बीबीसीलाई दिएको जानकारीमा सबै प्रतिस्पर्धी ‘प्लास्टिक जस्ता’ देखिएकाले वास्तविक तस्बिरलाई रिटच गरिएको बताइन् ।
उनले फोटोशप टीमलाई प्रतिस्पर्धीको रंगमा कुनै पनि परिवर्तन नगर्न बताइएको कुरालाई उनले स्पष्ट पारिन् । उनका अनुसार पत्रिकामा छाप्दा प्रयोग भएको मसीका कारण पनि यस्तो देखिएको हो ।
सन् १९९० को दशकपछि नै सौन्दर्य प्रतियोगिता भारतमा एउटा ठूलो व्यापार बनेको छ । भारतका केही मिस इन्डिया चर्चित भएका छन् जस्तै ऐश्वर्या राय, सुष्मिता सेन र प्रियंका चोपडा ।
मिस इन्डिया प्रतियोगिता जित्ने थुप्रै युवतीले बलिउडमा राम्रै नाम पनि कमाएका छन् ।
यसै कारण भारतमा यस्ता संस्था पनि खोलिएका छन् जसले युवतीलाई मिस इन्डियाजस्ता सौन्दर्य प्रतियोगितामा भाग लिनका लागि तयार गर्छ ।
यो पनि एउटा तथ्य हो कि मिस इन्डिया जित्ने धेरैजसो युवती गोरो नै हुन्छन् र यसमा कुनै अचम्म मान्नु पर्ने कुरा पनि छैन ।
गोरो रङका लागि भारतीयको पागलपन जगजाहिर छ, विशेषगरी महिलाको विषयमा । धेरै मानिसले कालो वर्णभन्दा गोरो वर्णलाई राम्रो मान्छन् ।
कस्मेटिक बजारको आवश्यकताः
गोरो वर्ण भएका युवतीलाई विवाहको मामलामा पनि प्राथमिकता दिइन्छ । यो पनि एउटा वास्तविकता हो ।
सन् १९७० को दशकमा भारतमा गोरो बनाउने क्रिम– फेयर एण्ड लभ्ली आएको थियो । अब गोरो बनाउने कस्मेटिकको बजार निकै ठूलो छ र भारतका शीर्ष सिने कलाकारले यसको विज्ञापन गर्छन् ।
यस्ता क्रिम वा जेलको विज्ञापनमा गोरो बनाउने मात्र नभई जीवनलाई उत्कृष्ट बनाउने, जागिर, प्रेम वा विवाहसम्मको बचन दिइएको हुन्छ ।
र यस्ता सौन्दर्य प्रतियोगिता गोरो वर्णलाई राम्रो ठान्ने धारणालाई थप बलियो बनाउँछ ।
सन् २००५ मा कुनै रचनात्मक व्यक्तिले सोचे कि गोरो वर्ण महिलाका लागि मात्र नभई पुरुषका लागि पनि आवश्यक छ । त्यसपछि बजारमा आयो पुरुषलाई गोरो बनाउने पहिलो क्रिम – फेयर एण्ड हेन्डसम ।
बलिउडका शाहरुख खानले यसको विज्ञापन गरे र यो क्रिमले चाँडै नै ठूलो बजार ओगट्यो ।
हालैका वर्षमा डार्क इज ब्युटिफुल (कालो वर्ण राम्रो) जस्ता अभियान सुरु भएका छन् जसले वर्णलाई प्राथमिकता दिने विषयमा प्रश्न उठाएको छ ।
तर यसले बजारमा गोरो बनाउने क्रिम र कस्मेटिकमा कुनै कमी आएको छैन । र यहाँसम्म कि काखी वा महिलाको यौनाङ्गको रङलाई समेत सफा गरिदिने दाबी सहितका क्रिम बजारमा भित्रिएका छन् ।
भारतमा गोरो बनाइदिने दाबी गर्ने क्रिम र ब्लिच इत्यादिको बजार हज्जारौं करोड रुपैयाँको छ । सन् २०२३ सम्म कस्मेटिक उत्पादनको वार्षिक बजार ५ हजार करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
यस्ता उत्पादनको पक्ष लिनेहरुले गोरो बनाउने उत्पादन मानिसहरुको नीजि रुची हो भन्दै आएका छन् । उनीहरु भन्छन्, ‘यदि महिला आफ्नो ओठलाई रातो बनाउका लागि लिपस्टिक लगाउन सक्छन् भने छाला गोरो बनाउनका लागि क्रिम वा जेल लगाउन सक्दैनन् ?’
यो कुरा तार्किक लाग्न सक्छ । तर यसको विरोध गर्नेहरुले गोरो रङलाई प्राथमिकता दिनु भनेको भेदभावलाई प्रोत्साहन दिनु हो भन्ने गरेका छन् । यस्तो प्रकारको उत्पादनले गोरो रङको ‘श्रेष्ठता’ लाई बिस्तारै प्रोत्साहन दिन्छ र यसले समाजमा कालो वर्णप्रति नकारात्मक धारणा बलियो हुन्छ । यस कारण कालो वर्ण भएका मानिसहरुको आत्मविश्वासमा चोट पनि लाग्न सक्छ ।
गोरो कालोबीचको भेदः
यस्ता उत्पादनविरुद्ध अभियान चलाउनेहरुले यसले कालो वर्ण भएका व्यक्तिहरुको नीजि र व्यावसायिक जीवन पनि असर पर्नसक्ने बताएका छन् । यसले थुप्रै पटक उनीहरुको सफलतालाई पनि प्रभावित पार्न सक्ने उनीहरु बताउँछन् ।
यस्तै एक मोडल छिन् जसका अनुसार आफ्नो वर्णका कारण उनका लागि काम पाउन मुश्किल छ । र बलिउडमा कालो वर्ण भएका निकै थोरै मात्रै अभिनेत्री छन् जो प्रमुख भूमिकामा छन् ।
सन् २०१४ मा विज्ञापनकर्ताको स्व–नियामक संगठन एडवर्टाइजिंग स्टेन्डर्स काउन्सिल अफ इन्डिया (एएससीआई) ले केही दिशानिर्देश जारी गर्दै काला व्यक्तिलाई कुरुप, दुःखी, चिन्तित देखाउन रोक लगाइएको थियो । संस्थाले उनीहरुलाई विवाह, जागिर वा पदोन्नतीको मामलामा पनि कम नआँक्न निर्देशन दिइएको थियो ।
तर विज्ञापन बन्न रोकिएको छैन । चर्चित अभिनेता र अभिनेत्री अहिले पनि यस्ता उत्पादनको विज्ञापन गर्छन् । गीता पाण्डे/ बीबीसी