नेपालमै लाग्छ अश्लील मेला जहाँ २४ घण्टा छाडा बोल्न पाइन्छ

माघ ५, बागलुङ । बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनी एउटा अनौठो मेला लाग्छ । त्यो मेलामा यौनका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ । अर्थात बाग्लुङमै वर्षेनी लाग्छ अश्लिल मेला ।   

अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ । अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन् । तर, यहाँ भने २४ घण्टा निर्धक्क महिला पुरुष सँगै बसेर यौनका कुरा गर्न पाइन्छ ।   

मेलामा युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन् । मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ ।   

यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापा बताउँछन् । ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अश्लील शब्द बोल्न छुट छ ।’ उनले भने ।   

परिवारको सहभागिता 

अश्लिल मेलामा परिवार, आफन्त, गाउँ समाजका महिला पनि मेलामा सरिक हुन्छन् । सुन्नै अप्ठ्यारो लाग्ने यौनसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन् ।   

मेलामा कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन् । खुलेआम यौन अश्लिल शब्द उच्चारण भइरहँदा पनि स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट हुँदैन । हरेक वर्ष लाग्ने यो मेलामा बोलिने शब्दहरु स्थानीय युवती, महिलाले पचाइसकेका छन् । 

पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन् जिब्रो टोक्छन्, लाजले मुख छोप्छन् । यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पालगायतका स्थानबाट पनि ठूलो संख्यामा मानिस आउँछन् । 

स्थानीय अगुवा नैनसिंह बुढामगरका अनुसार यसको कथा पुराना वीरमाना राजा–रानीसँग जोडिएको छ । उनीहरु यो मेला निरन्तर मनाउँदै आएका छन् । मेलामा राजा वीरमानको सैन्य प्रतीकका रूपमा पुतली नाच नचाइन्छ । राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घरपरिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनालीसमेत राम्रो हुने जनविश्वास छ । त्यही नाचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुसियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अश्लील बोल्ने विषय जोडिएको हुनसक्ने अनुमात छ । 

निसीखोला–६ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बुढामगरले परम्परा नतोड्ने बताए । उनले अश्लिलता भएपनि आफ्ना पुर्खाहरूले चलाएको रीतिथिति, संस्कार भएकोले बन्द गर्न नसकिने बताए । ‘यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने निष्कर्ष निकालियो । अब यसकै संरक्षण सम्बद्र्धन गरेर अघि बढ्ने सोचमा छौं।’ उनले भने ।   

पुतली नाच अंग्रेजहरूसँग लडाइँ जितेपछि विजयोत्सव मनाउने क्रममा थालिएको स्थानीयवासीको भनाइ छ । राजारानीको मूर्तिजस्तै माटोको पुतली बनाइने, पुतलीको स्वरूपमा रंगीविरंगी भेषभूषामा पुतली बनेर पुरानो जमानामा हुने सैन्य शैलीको हातमा तरबार, भाला, खुँडा लिएर ढालसहित नाच्ने गरिन्छ । 

माघ ३ का दिन पुतलीलाई डोलामा बोकिन्छ र कापैसँग डुलाइन्छ । भल्कोट गाउँभन्दा केहीमाथि रहेको एउटा बारीमा पुगी पुतली घुमाइन्छ र पुतलीजस्तै बनेका मान्छेहरू हातमा तरबार, लट्ठी लिएर नाच्छन् । साँझपख डोलामा बोकेको पुतलीलाई नदी किनारमा विसर्जन गरिन्छ । पुतली विसर्जनपछि स्थानीयवासीले आफन्तलाई घरमा लगी तरुल, रोटीलगायत मीठा परिकार खुवाउँछन् । लामो समय खडेरी परेको समयमा पनि पुतली नचाएपछि पानी पर्ने गरेको स्थानीयवासीको विस्वास रहि आएको छ । 

भालुको पित्त देखाउने कला 

यो नाचसँग भालुको पित्त देखाउने गरिन्छ । पुतली नाच र कापैसँगै सांकेतिक रूपमा गाउँलेले भालुको पित्त देखाउने गर्छन् । एक जना मानिसलाई घुम (भेडाको ऊनबाट बनाइएको कपडा)ले बेरिन्छ । उसलाई खरानी लगाएर नचिन्ने बनाइएको हुन्छ, जसलाई भालु भनिन्छ । ती व्यक्तिलाई धेरै रक्सी खुवाएर लट्ठ बनाई पशुझैं दाम्लोले बाँधेर लतारिन्छ । 

केही बेरमा मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसको गुप्तांग सबैमाझ देखाइदिने र खरानी, माटो हाल्दिने गरिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *