भरतपुर १९ मा पुनः मतदान गर्न सर्वोच्चको आदेश

– फैसला चोरलाई चौतारी भयो: देवी ज्ञवाली                       – फैसला जनताको पक्षमा आयो: रेणु दाहाल 

‘निवेदकले जिकिर लिएको दफा ५१ (२) मा ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि एउटै मतपत्रबाट धेरै उम्मेदवार चुनिने अवस्थामा जुन पदको मत बदर हुने हो त्यस्तो मत मात्र गरेर अन्य मतपत्र गणना गर्न पर्नेछ’ भन्ने व्यवस्था भएकोमा कुन उम्मेदवारलाई मत दिएको हो सो कुरा स्पष्ट हुन नसक्ने च्यातिएको मतपत्रको आधारमा मतसंकेत छुट्याउन सकिने अवास्था नै नरहेको हुँदा च्यातिएको मतपत्र बदर मतमा राखी बाँकी मतपत्र गणना गरी पाउँ भनी निवेदन लिएको जिकिर कानून सम्मत देखिन आएन ।’

किशोर खनाल,भरतपुर । इलास्टिक जस्तो तन्केको भरतपुर प्रकरणले आइतबार टुङ्गो पाएको छ । भरतपुर महानगरपालिकाको वडा नं १९ मा सर्वोच्च अदालतले पुनः मतदान गर्ने फैसला गरेपछि इलास्टिक जस्तो तन्केको भरतपुर प्रकरणले टुङ्गो पाएको हो ।
न्यायाधीश ओमप्रकाश मिश्र र पुर्षोत्तम भण्डारीको संयुक्त इजलासले वडा नं १९ मा पुनः मतदान गर्न आदेश दिएको हो । इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वयले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको फैसला सुनाएको हो । फैसलाले निर्वाचन आयोगलाई पुनः मतदान गर्नको लागि बाटो खुला पनि गरिदिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मत गन्दागन्दै जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेपछि माओवादी केन्द्रका दुई कार्यकर्तालाई चितवन प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । पछि उनीहरु अदालतबाट धरौटीमा रिहा भएका थिए ।

‘फैसला दुर्भाग्यपूर्ण’
जेठ २० गते निर्वाचन आयोगले पुनः मतदान गर्न आदेश दिए पनि सर्वोच्च अदालतमा रिट परेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध भरतपुर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ मा सर्वोच्च अदालतमा रिट टायर गरेका थिए । रिटमा उनीहरुले वडा नं १९ मा पुनः मतगणनाको माग गरेका थिए । मतगणनाको मागको विरुद्धमा सर्वोच्चले पुनः मतदानको फैसला गरेको छ ।

भरतपुर महानगरका एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भनेका छन् । उनले भने, ‘सर्वाेच्चको फैसला मान्न त पर्छ नै, तर यो फैसला दुर्भाग्यपूर्ण आयो ।’ उनले यस्तो फैसला गर्नेको आत्मा कुनैसमय भतभती पोल्ने बताए ।
‘यो फैसला चोरलाई चौतारी साधुलाई सुली भएको छ । तर मलाई विश्वास छ, देवी ज्ञवालीलाई वडा नं १९ का जनताले फेरि जिताउँछन् ।’

‘फैसला स्वागतयोग्य’

माओवादी केन्द्र तथा नेपाली कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले सर्वोच्चको फैसला स्वागतयोग्य भनेकी छन् । उनले यो फैसला जनताको पक्षमा आएको बताइन् ।
‘जनताको पक्षमा फैसला आएको छ, जनताको अभिमतको कदर भएको छ’ दाहालले भनिन्, ‘मलाई वडा नं १९ का जनताले जिताउनेछन् ।’ सर्वाेच्चले कानुनअनुसार नै फैसला गरेको उनले बताइन् ।

२७ वडाको मतगणना सम्पन्न

भरतपुर महानगरमा २९ वडा छन् । २७ वडाको मतगणना सम्पन्न भइसकेको छ । मतगणनाको क्रममा भरतपुर महानगरमा एमालेका मेयर उम्मेदवर देवी ज्ञवाली अगाडि थिए । नेपाली कांग्रेस र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालेले देवी ज्ञवालीको मतान्तर घटाउँदै लगेकी थिइन् ।
१९ नं वडाकोे मतगणना गन्दागन्दै मध्यरातमा मतपत्र च्यातिएको हो । यो वडामा २ हजार ८६८ मत खसेको थियो । २ हजार २ सय मत गनिसकेपछि मतपत्र च्यातिएको थियो । मतपत्र च्यातेपछि भरतपुर प्रकरणले देशभरमै हलचल ल्याए । यो विवाद सर्वोच्चसम्म पुगेर इलास्टिक जस्तो तन्केको तन्कै भयो ।
वडा नं २० मा मतगणना भएकै छैन । २७ वटा वडाको मतगणना सकेर वडा नं १९ को मतगणनाको क्रमसम्म (मतपत्र च्यातिनुअघिसम्म) एमालेका देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका थिए । गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९६ मत ल्याएकी थिइन् ।

अब कहिले होला मतदान ?

सर्वोच्चले वडा नं १९ मा पुनः मतदान गर्ने फैसला गरेपछि एमाले पनि मतदानमा जानैपर्न कर लाग्छ । निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक राखेर चाँडै वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय गराउने सुरसारमा लागेको छ ।
‘निर्वाचन आयोगसँग परामर्श गछौँ । रिट खारेज भएको पत्र आएपछि सर्वदलीय बैठक बोलाएर पुनः मतदानको मिति तोक्ने छौँ’ सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, ‘हामी मिति तोक्न कुनै हालतमा ढिला गर्ने पक्षमा छैनौँ । सकभर साउन २२ भित्रै मतदानको मिति तोक्ने पहल गर्छौँ ।’ उनले साउन २३ बाट स्कुलहरु खुल्ने भएकाले २२ भित्रै मतदान गर्न पाए राम्रो हुने बताए ।

सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण

यता निर्वाचनको विपक्षमा उत्रिएको नेकपा एमालेले सर्वोच्च अदालतको निर्णय दुर्भाग्यपूर्ण भनेको छ ।
सर्वोच्चको फैसलापछि एमाले नेता रविन्द्र अधिकारीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी फैसलालाई दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका हुन् ।

‘मतपत्र च्यातिने कुरा सुनियोजित र प्रायोजित थियो, मतपत्र च्यात्ने उम्मेदवारका वारेस थिए । जनताको फैसला नै अन्तिम ।’ अधिकारीले ट्वीटरमा भनेका छन् । अर्का नेता प्रदीप ज्ञवालीले हार्ने मत्रपत्र च्यात्नेलाई निर्वाचन आयोगले संरक्षण गरेकोमा अदालतले पनि त्यही प्रवृत्तिलाई सघाउने खालको फैसला गरेको जिकिर गरेका छन् ।

नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने सर्बोच्चको फैसलाको आलोचना गरेका छन् । ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका भट्टराईले चुनाव हार्ने भएपछि नियोजित ढंगले मतपत्र च्यात्नेलाई अदालतले पुरस्कृत गरेर गलत नजिर बसालेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *