‘केपी तेरो पाराले, दुःख पायो साराले’ भन्दै बालुवाटारमा प्रदर्शन

 

साउन २८, काठमाडौं । लोकसेवाको असंवैधानिक विज्ञापन खारेज गर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरिएको छ । 

संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरित प्रकाशित गरिएको लोक सेवा आयोगको असमावेशी विज्ञापन तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितसहितको विज्ञापन पुनः प्रकाशित गर्न माग गर्दै प्रदर्शन गरिएको हो । आदीवासी जनजाति महासंघ, दलित गैर सरकारी संस्था महासंघ, संघीय शेर्पा मञ्च, संघीय तामाङ सालिङ मञ्च, नेपाल तामाङ घेदुङ लगायतले प्रदर्शन गरेका हुन् । 

null

 

लोकसेवाको असंवैधानिक विज्ञापन खारेज गरी पूर्ण समावेशी समानुपातिक लागु गर्नुपर्ने, संविधानप्रदत्त समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, राज्य व्यवस्था समितिको निर्देशन पालना गर्नुपर्ने, बहिस्कृत समुदायका लागि आरक्षण सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । 

प्रदर्शनमा उत्रिएकाहरुले निरंकुश सरकार मुर्दावाद, साइकलमन्त्री लालबाबु पण्डित राजीनामा दे, विभेद गर्न पाइँदैन, यस्तो सत्ता चाहिँदैन, लोकसेवाका पदाधिकारी राजीनामा दे, केपी ओली राजीनामा दे, केपी तेरो पाराले दुःख पाए साराले, प्रहरी दमन बन्द गर भन्दै नारा लगाएका थिए । 

 

बालुवाटार छिर्न लागेका उनीहरुले प्रहरीको रोकावटपछि केहीबेर गेट अगाडी धर्ना समेत दिएका थिए । आफ्नो माग पुरा नभए आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ । 

यसअघि सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित १४ जना पक्राउ परेका थिए । 

 

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *