‘हामी सरकार ढाल्ने खेलमा छैनौं, फर्सी कुहिएर झरेजस्तै झर्छ’

काठमाडौं, ८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन् । यो सरकार काम गर्न भन्दापनि गफ र भाषणमा धेरै सफल भएको छ । यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन् ।’ 

नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे । उनले भने,‘अपराध न्यूनिकरण गर्ने र अमनचयन कायम गर्न सरकार असफल भयो ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ । 

 

null

उनले भने,‘एकपछि अर्को आयोग बनाउने काम गर्यो, तर आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।’ विकास निर्माणको सवालमा पनि सरकार असफल भएको उनको आरोप छ । लेखकले थपे,‘हिजो अघि बढेका योजनाहरु अहिले रोकिएका छन् । ७ नम्बर प्रदेशको कुरा गर्नुहुन्छ भने हिजोका सम्पूर्ण योजनाहरु अहिले बन्द भएका छन् । कुनै पनि योजना अघि बढेका छैनन् ।’ 

विकासको गति नै अहिले शून्यमा रहेको उनको दाबी छ । उनले भने,‘पुँजीगत खर्च हुनै सकेको छैन् । यसमा त सरकार सर्वाधिक रुपमा असफल भएको छ ।’ उनले चीनबाट र भारतबाट रेल आउँछ भनेर सरकारले जनतालाई कल्पनामा बगाउने काम गरेको पनि आरोप लगाए । उनले भने,‘भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा छ, यो सरकारसँग कुनै तथ्य र तथ्यांक छ त ? तर, यहाँ त भोलि विहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भैरहेको छ ।’ 

वर्तमान सरकारले पत्रकारिता, अदालतलगायतका महत्वपूर्ण क्षेत्रमा धावा बोल्ने काम गरेको पनि उनको आरोप छ । उनले भने,‘यो सरकारले सर्वसत्तावादी चरित्र देखाईरहेको छ । महत्वपूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने र सबै अंगलाई आफ्नो कब्जामा राख्ने काम गरिरहेको छ ।’ 

एकपछि अर्कोगरि भ्रष्टाचारका कुरा बाहिरिँदा पनि वर्तमान सरकार निरीह बनेको उनको अर्को आरोप छ । उनले भने,‘यो एक वर्षमा सरकार पूर्ण रुपमा असफल भएको छ । भाषण र उखान टुक्कामा अत्यधिक सफल तर, काममा अत्यधिक असफल भएको छ ।’ 

आफ्नो पार्टीभित्रको आन्तरिक कुरामा टिप्पणी गर्दै नेता लेखकले कांग्रेसमा अहिले समस्या र जटिलताहरु रहेको स्विकार गरे । उनले भने,‘कांग्रेसले प्रतिपक्षीको भूमिका पनि राम्रोसँग निर्वाह गर्न सकेन । हामीले यो कुरा स्विकार्नैपर्छ । हामी आफ्नो भूमिका र जिम्मेवारीमा शतप्रतिशत हिँड्न नसकेकै हो ।’ 

संघीय संसदमा र प्रदेश दुवैमा आफूहरुको उपस्थिति कमजोर भएकोले आवाज पनि कमजोर बनेको उनको स्पष्टोक्ति थियो । पार्टीले बैशाख ११ गतेबाट ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको जनाउँदै उनले उक्त अभियान सफल हुने विश्वास दिलाए । 

उनले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारे । उनले भने,‘कांग्रेस सरकार ढाल्ने खेलमा लाग्दैन् । यो सरकार त फर्सी आँफै कुहिएर झरेजस्तो अवस्थामा छ । यो सरकार जाते जाते कहीँ व्यवस्था नै लग्ने त होईन भन्ने चाहीँ हामीलाई चिन्ता छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *